प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेगकाे विपक्षमा कमल थापा, प्रपञ्च रहेकाे भन्दै देखाए तीन कारण

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, ०८ : ५१
प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेगकाे विपक्षमा कमल थापा, प्रपञ्च रहेकाे भन्दै देखाए तीन कारण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे महाभियाेगकाे विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियाेग प्रस्ताव दर्ता गरेपछि थापाले  प्रपञ्चमा महाभियाेग ल्याइएकाे दाबी गरे । साेमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियाेग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।

उनले पहिलाे कारण त एमसिसीमा सत्तासिन नेपाली कांग्रेसकाे स्वार्थ रहेकाे बताएका छन् । एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार थिए । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीमा माओवादी र समाजवादीकाे माैन समर्थन रहने सर्तमा महाभियाेग प्रस्तावमा राजी भएका हुन् । अर्थात एमसिसी संसदमा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएकाे तर मतदानमा भाग लिने छैन, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन् ।

त्यस्तै, थापाले दाेस्राे कारणमा सभामुख अग्निप्रसाद सापकाेटाविरुद्ध विचाराधीन मुद्दा रहेकाे बताएका छन् ।  द्वन्द्वकालमा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा  सापकाेटालगायत केहीविरुद्धकाे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । याे मुद्दालाई थापाले  माओवादी स्वार्थ भनेका छन् । 

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेकाे बताएका थिए । तर, याे विषयमा सभामुखले निकास नदिएपछि सर्वाेच्चमा मुद्दा परेकाे छ । याे विषयमा एकीकृत समाजवादीकाे स्वार्थ रहेकाे उनले बताएका छन् ।

थापाले लेखेका छन्- 'प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले MCC पास गर्ने (कंग्रेस स्वार्थ),हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सासंद पद जोगाउने प्रपंचमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।'

प्रतिक्रिया दिनुहोस