अब विद्युतीय माध्यमबाटै ५ लाख ऋण पाइने

पत्रपत्रिकाबाट

शनिबार, २९ माघ २०७८, ०८ : ०९
अब विद्युतीय माध्यमबाटै ५ लाख ऋण पाइने

काठमाडौं । अब बैङ्क तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट बढीमा पाँच लाख रुपैयाँसम्म कर्जा दिन पाउने भएका छन्।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ)सम्बन्धी मार्गदर्शनले व्यवस्था गरेअनुसार बैङ्क तथा वित्तीय संस्थामा तलबी खाता वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकका लागि पाँच लाख रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो। 

अन्य ग्राहकको हकमा भने बढीमा दुई लाख रुपैयाँसम्म मात्रै डिजिटल लेन्डिङ गर्न पाइने मार्गदर्शनमा उल्लेख छ।डिजिटल लेन्डिङ कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायकलाई एजेन्टका रूपमा नियुक्त गर्न पाउने बाटो पनि राष्ट्र बैङ्कले खोलिदिएको छ।

यस्ता एजेन्टलाई कमिसन भने सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले नै दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ। डिजिटल लेन्डिङ प्रदान गर्न बैङ्क तथा वित्तीय संस्थाले बेग्लै वेबसाइट (पोर्टल) बनाएर सोही माध्यमबाट निवेदनलगायतका आवश्यक कागजपत्र लिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ। मोबाइल एप्लिकेसनको माध्यमबाट पनि कर्जा माग निवेदन तथा अन्य आवश्यक कागजात लिन पाइने राष्ट्र बैङ्कले जनाएको छ।

कर्जा स्वीकृत भए नभएको जानकारी पनि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले ग्राहकलाई डिजिटल माध्यमबाट नै दिनुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।डिजिटल  माध्यमबाट  लिइएको  कर्जा  बढीमा  तीन  वर्षभित्र तिरिसक्नुपर्नेछ भने यस्तो कर्जा एकैपटक वा किस्ताबन्दी रूपमा तिर्न पाइने सुविधा पनि राष्ट्र बैङ्कले खुला राखिदिएको छ। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस