शंकराचार्य स्वामी निश्चलानन्दलाई नागरिक अभिनन्दन गरिने

सूर्यप्रकाश कँडेल

आइतबार, २३ बैशाख २०७५, १६ : ३०
शंकराचार्य स्वामी निश्चलानन्दलाई नागरिक अभिनन्दन गरिने

चितवन । भारतमा रहेको गोवद्र्धन मठ पुरी पिठाधीश अनन्तश्री विभुषित जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्दलाई आगामी जेठ चार गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । स्वामी निश्चलानन्दलाई अभिनन्दन गर्न मूल समारोह समिति गठन गरेर आवश्यक कामहरु अगाडि बढाइएको छ ।
जगत्गुरु शंकराचार्य नागरिक अभिनन्दन मूल समारोह समिति चितवनले आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो । मूल समितिका संयोजक दयाराम पाण्डेले धार्मिक संघसंस्था र व्यक्तित्वहरुबाट आर्थिक संकलन गरी स्वामी निश्चलानन्दलाई नागरिक अभिनन्दन गर्न लागिएको जानकारी दिनुभयो ।
आर्थिक संकलन उपसमिति संयोजक बाबुशरण सुवेदीले नागरिक अभिनन्दन कार्यक्रमको लागि २५ लाख रुपैयाँ खर्च अनुमान गरी आर्थिक संकलन कार्य अगाडि बढाइएको बताउनु भयो । मञ्च व्यवस्थापन, स्वागतद्वार निर्माण, अतिथि सत्कार, यातायात, आवास र भोजन लगायतका शीर्षकमा खर्च हुने उहाँले जानकारी दिनुभयो ।


प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा स्वामी निश्चलानन्द बैशाख ३० गते भारतको दिल्लीबाट जहाजमा काठमाडौँ आउनु हुने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । काठमाडौँमा बैशाख ३१ गते पशुपतिनाथ र जेठ एक गते टुँडीखेलमा स्वामी निश्चलानन्द सहभागी हुने कार्यक्रम तय भएको बताइएको छ । काठमाडौँबाट जेठ ३ गते हेलिकप्टरमा देवघाट आई त्यहाँबाट भरतपुर विमानस्थलमा हेलिकप्टरमै स्वामी निश्चलानन्द आउनु हुने संयोजक पाण्डेले बताउनु भयो ।
नागरिक अभिनन्दन कार्यक्रम स्वामी निश्चलानन्दको आशीर्वचन सुन्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिँदै संयोजक पाण्डेले भन्नुभयो, ‘जेठ ४ गते भरतपुरमा नागरिक अभिनन्दन गरिएपछि जेठ ५ गते हेटौँडाहुँदै स्वामी निश्चलानन्द वीरगञ्ज जानु हुनेछ । काठमाडौंबाट हेलिकप्टरमा देवघाटसम्म ल्याउने, त्यहाँबाट भरतपुर ल्याउने र हेटौंडाहुँदै वीरगञ्जसम्म पु¥याउने जिम्मा मूल समारोह समितिको रहनेछ ।’

 

प्रतिक्रिया दिनुहोस