सौगातले हैरान पारे सरोज र सागरलाई (भिडियोसहित)

सूर्यप्रकाश कँडेल

आइतबार, २३ बैशाख २०७५, १४ : ०७

विश्वकै कान्छा चलचित्र निर्देशक सौगात मल्ल । तस्बिर : सुरेन कुँवर

चितवन । विश्वकै कान्छा चलचित्र निर्देशक सौगात मल्लले आफूहरुलाई हैरान पारेको कलाकार सरोज खनाल र सागर लम्सालले गुनासो गरेका छन् । निर्देशक सौगातले सरोज र सागरलाई अरु कुरामा होइन, अभिनय बेजोड भएन भन्दै हैरान पारेका हुन् ।
चलचित्रको नामै हैरान भएपछि फुच्चे निर्देशक सौगातले कलाकारलाई हैरान पार्नु स्वाभाविकै थियो । सौगातले हैरान पारेको कुरा सरोज र सागरले आइतबार चितवनमा पत्रकारसामु खुलासा गरेका हुन् । नेपाली कथानक चलचित्र हैरानको प्रमोसनका लागि चितवन आइपुगेको फिल्म युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकारहरुले निर्देशक सौगातकै अगाडि पत्रकारसामु आफूहरुले खेपेको हैरानीको बयान गरे ।


‘विश्वको कान्छो निर्देशक सौगात बिष्टले मलाई नै हैरान पार्नुभयो’ गृहजिल्ला चितवन आइपुगेका कलाकार सरोज खनालले भने, ‘तपाइँ सिनियर आर्टिस्ट भएर यस्तो झुर अभिनय गर्ने ? भनेर मैले उहाँको डाइलग खानु प¥यो ।’ सरोजले कान्छो निर्देशक र सिनियर आर्टिस्टको राम्रो कम्बिनेसन मिलेको र टिमकै मिहिनेतले हैरान राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए ।


अर्का कलाकार सागर लम्सालले चलचित्रको पहिलो टेक आफूले दिँदा हैरानी खेप्नु परेको गुनासो गरे । ‘फुच्चे डाइरेक्टरले मलाई पनि हैरान पार्नुभयो’ उनले भने, ‘चलचित्रको फस्ट टेक मेरै थियो, तीन पटकसम्म रिटेक दिनुप¥यो ।’ ग्यारेजमा काम गर्ने मिस्त्रीको भूमिकामा अभिनय गरेका सागरले चरित्रमा डुब्न नसकेको भन्दै निर्देशक सौगातले उनलाई तीन पटकसम्म रिटेक दिन लगाएका रहेछन् ।


नायिका आरोही शर्माले डेब्यु चलचित्र हैरानमा पत्रकारको भूमिका निर्वाह गरेको बताइन् । यस चलचित्रले मनोरञ्जनको साथै ज्ञान पनि दिने उनको दाबी थियो । थिएटर आर्टिस्ट आरोहीले अडिसन दिएर आफू चलचित्रमा अनुबन्धित भएको बताइन् । चलचित्रका निर्माता एवं नायक गजित बिष्टले चलचित्र निर्माणमा ६३ दिन लागेको जानकारी दिँदै अहिलेसम्म एक करोड १८ लाख रुपैयाँ खर्च भइसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस