गठबन्धनका दललाई नेकपा एसको आह्वान : एकताबद्ध भएर निर्वाचनमा सहभागी होऔं

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, २० : ३४
गठबन्धनका दललाई नेकपा एसको आह्वान : एकताबद्ध भएर निर्वाचनमा सहभागी होऔं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठबन्धनमा सामेल सबै दलहरुलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आव्हान गरेको छ । 

केन्द्रीय सचिवालयको १३ औं बैठकले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको निष्कर्ष निकालेको हो । 

बैठकले सरकारले वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । 

त्यसैगरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरुलाई पनि धन्यवाद दिने निर्णय नेकपा एसले गरेको छ । 

लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो र निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा पार्टीका लागि गौरवको कुरा भएको महासचिव वेदुराम भुषालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकव छ । यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने नेकपा एसले उल्लेख गरेको छ ।