आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

सफल खबर संवाददाता

विहीबार, २४ बैशाख २०८३, ०७ : ४०
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार राति हैदराबादमा सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ३३ रनले हराउँदै हैदराबाद विजयी भएको हो ।हैदराबादले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय २ रनमा समेटियो ।

पञ्जाबका कुपर कोनोलीले अविजित १ सय ७ रनको शानदार शतक पार गरे । यस्तै, आर्कुश स्टोइनिसले २८ र सुर्यांशले २५ रन जोडे । हैदराबदका प्याट कमिन्स र शिवाङ कुमारले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । हैदराबादका हेनरिक क्लासेनले सर्वाधिक ६९ र इशान किशनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, ट्राभिस हेडले ३८, अभिषेक शर्माले ३५ र कुमार रेड्डीले २९ रन बनाए ।

यो जितसँगै ११ खेलबाट सनराइजर्स हैदराबाद १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको पञ्जाब किङ्स १३ अंकका साथ दोस्रो स्थानमा छ।