क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने

सफल खबर संवाददाता

विहीबार, २४ बैशाख २०८३, ०७ : ३८
क्यानाडा-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा लामिछाने

काठमाडौ । फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। 

टोरन्टोमा सम्पन्न सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। लामिछाने यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवका रूपमा कार्यरत थिए।

विगत ६ वर्षदेखि क्यानाडामा क्रियाशील यो संस्थाले क्यानाडा र नेपालबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन समन्वयकारी भूमिका खेल्दै आएको छ। 

साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत घोषणा गरेको छ। जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नविन लुइँटेल, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र सुराना निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन्। 

नवनिर्वाचित अध्यक्ष गोकर्ण लामिछानेले संस्थालाई अनुभव साटासाट गर्ने र मार्गदर्शन गर्ने साझा थलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस