वैशाखमै निर्वाचन भए पनि भिड्न तयार छौँ : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १४ : २२
वैशाखमै निर्वाचन भए पनि भिड्न तयार छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु चुनावबाट भाग्न नखोजेको बताएका छन् । स्थानीय तहको निर्वाचन आउँदो वैशाखमा गर्ने कि पछि सार्ने भन्नेमा दलहरुबीच नै सहमति हुन नसकेको बेला अध्यक्ष नेपालले वैशाखमै चुनाव भए पनि सामना गर्न तयार रहेको बताएका हुन् ।

आज (शनिबार) काठमाडौँमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावमा भिड्न तयार रहेको बताए । उनले आगामी निर्वाचनसम्मै वर्तमान सत्ता गठबन्धन कायम राख्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा समेत प्रतिबद्ध रहेको बताए ।

स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतले आलोचना समेत गरिरहेका छन् । उक्त निर्वाचनसम्बन्धी ऐन र संविधान बाझिएको भन्दै केही कानुनविदले समेत यसलाई बहसको विषय बनाएका छन् । तर नेता नेपालले आज निर्वाचनबारे गठबन्धनमा आबद्ध दलहरुको सहमति मान्ने बताए ।

उनले गठबन्धन टुटाउन नेपाली कांग्रेसभित्र र गठबन्धनमा देशी विदेशी शक्ति समेत लागिरहेको भन्दै चुनावबारे गठबन्धन तयार भएमा आफूहरु पनि तयार रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस