गैंडा मृत्यु प्रकरण: सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पूर्जी जारी

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, १५ : ०५
गैंडा मृत्यु प्रकरण: सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पूर्जी जारी

चितवन। भरतपुरको गोन्द्राङमा निर्माणाधिन नालीमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पूर्जी जारी गरेको हो । हिजो बिहीबारदेखि पक्राउ पूर्जी जारी गरिएको भए पनि शुक्रबार सम्म खड्का पक्राउ परेका छैनन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाएसँगै ठेकेदार कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

गत आईतबार नालीको खोँचमा परेर गैंडा मरेको थियो । त्यस लगत्तै वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन ।

बिहीबारबाट समितिले सरोकारवालाहरुसँग छलफल थालेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल गरेको थियो । आज सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सोही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ ।समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस