प्रधानमन्त्री देउवासंग प्रचण्ड र नेपालको भेट, स्थानीय निर्वाचनको विषयमा छलफल

गठबन्धनको बैठक भाेली बस्ने

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, १३ : ०७
प्रधानमन्त्री देउवासंग प्रचण्ड र नेपालको भेट, स्थानीय निर्वाचनको विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएको छ । 

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच स्थानीयसँगै प्रदेश र संघीय निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब एक घण्टा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोगले आगामी वैशाख २२ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला गठबन्धनका नेताबीच छलफल भएको हो। 

त्यस्तै, छलफलमा शनिबार सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक बोलाउने सहमति पनि भएको स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनका नेताहरु ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।


 

प्रतिक्रिया दिनुहोस