वैचारिक ग्रिनेड बोकेको यदुनाथ भट्टराईको योद्धा

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १४ : २७
वैचारिक ग्रिनेड बोकेको यदुनाथ भट्टराईको योद्धा

माधव घिमिरे

‘दियो बोल्दैन किनकि उसको प्रकाशले नै आफ्नो परिचय दिने गर्दछ । त्यसैगरी तपाईंको पनि शब्दले होइन, सुन्दर कर्मले परिचय दिनुस् ।’ 
अज्ञात पात्रको उपर्युक्त कथन निकै सार्थक मान्ने प्रगतिशील लेखक हुन् यदुनाथ भट्टराई । असङ्ख्य आरोह–अवरोहसँग पौँठेजोरी खेल्दै आइपुगेका हुन् उनी आजको लोभलाग्दो अवस्थामा । त्यसो त हर मान्छेको जीवनमा कुनै न कुनै कथा र व्यथा हुन्छ नै, भलै प्रकृतिमा अर्कोसँग पृथक् भएकै किन नहोस् । नत्र किन नै पो भनिन्थ्यो होला र – तीर नभएको नदी र पीर नभएको मान्छे हुँदैन  ! जीवन सुल्झन र उल्झनको कुल योगफल नै त हो । 

लमजुङको दूरदराज ठानिने दूधपोखरीमा जीवनको पहिलो पाइला टेकेका यदुनाथ भट्टराई यतिखेर पनि समाज रूपान्तरणमा रूचि राख्ने पाठक र अध्येताका निम्ति सुपरिचित नाम भने होइन किन्तु परिचय बनाउँदै गरेको नाम चाहिँ निःसन्देह हो । हेपिएका, चेपिएका र किनारीकृत मुद्दालाई आवाज दिने एक हिम्मतिलो नाम हो यो, आजका दिन । मध्यम वर्गीय पिता गिरिधारी र माता बल्लवा भट्टराईले सायदै परिकल्पना गरे होलान् तिनको कोख र काख यति सार्थक बन्छ भन्ने । संयोग नै मान्नुपर्छ हजुरबुबा लाङ्दी र चेपे सेरोफेरोका जिम्वाल । त्यो फेटमा चल्थ्यो उहाँकै हाँकोडाँको । परिचय त अब्बल थियो किन्तु किञ्चित अप्ठ्यारो, वर्तमान सन्दर्भमा । जीवनको बोझले हाँसो दबेकाहरूलाई त्यो पद साह्रै प्रिय थिएन, छैन । बाल्यकाल त्यही भूगोलमा बित्यो गाईबाख्रा चराउँदै र लाप्पा खेल्दै प्रतिकूल परिस्थितिसँग । घाँसपात र खनजोत । यिनै त थिए दैनन्दिनी ।  जिन्दगी कहाँ पो बग्छ र सरल रेखामा । 
 कलिलो मुना अर्थात् फगत् छ वर्षको उमेरमा झन्डै चिप्लिएछ यिनको चोला । माटाकोरेको गुँड खोज्दै दाइ र दिदी चम्पावती पारि पुगेछन् । हेलिएछ यिनी बरफ जस्तै पानीमा । कहिल्यै पानीसँग मुकाबिला नगरेको । बगाएछ नदीले । आत्तिए, रोए, फहराए । बल्लतल्ल सुनेछन् दाइ, दिदीले र ल्याएछन् बगरतिर । हिउँजस्तो पानीले लुगलुग कामेको उनको शरीर थलिएछ चार महिना । अप्रिय अपितु यादगार दुर्घटना रहेछ यो उनको बालवयको । 
 दूरीले टाढा त होइन विद्यालय परन्तु दुइटा खहरे पार गर्नुपर्ने । घरको कान्छो सन्तान । डरका मारे पठाइएनछ पढ्न नौ वर्षसम्म । तसर्थ खोला तर्नु नपर्ने परन्तु उकालो ओरालोले सताउने शिक्षालयमा सुरु भयो उनको औपचारिक प्रारम्भिक शिक्षा । तीन कक्षा उत्तीर्ण गरेपछि भने उनी भर्ती भएछन्, वागिश्वरी मा.वि.मा । अनेक दुखजिलो गर्दै प्रवेशिका परीक्षा त उत्तीर्ण भए, अब जानुपर्ने भयो महाविद्यालय । उनी उच्च शिक्षा लिनैपर्छ भन्ने अडानमा, परिवार जागिर खुवाउनुपर्छ भन्ने सुरसारमा । याद आयो चाणक्य कथन ठीक त्यतिखेर– 

जानीयात् प्रेषणे भृत्यान् बान्धवान् व्यसनागमे । 
 मित्रं चापत्तिकालेषु भार्या च विभवक्षये ।।

 

अर्थात् काममा लगाएपछि सेवक, दुःख पर्दा दाजुभाइ, समस्या आइपर्दा साथीहरू र धन सकिँदा पत्नीको परिचय राम्रोसँग पाइन्छ । हो, यस्तै अनुभूत भयो उनलाई । अर्धाङ्गिनीको दह्रो आड पाए र जित उनकै भयो । तैपनि परिवारलाई पनि चिढ्याएनन् उनले र अपनाए मध्यमार्गी बाटो । जागिर पनि,उच्च शिक्षा पनि । 
 उति बेला नै उनलाई आफू बसेको समाज कसरी रूपान्तरण गर्ने होला भन्ने हुटहुटी थियो । त्यस्तो समाज जसले सुन्दरता रङ्गमा हेर्छ,ज्ञान प्राप्ताङ्कमा नाप्छ, आदर पैसाको मात्र गर्छ । हो, बदल्नु थियो यसैलाई । हिँडे त्यही अक्करिलो बाटो, सुन्दर गन्तव्य भेट्नका खातिर किन्तु भुलेनन् किमार्थ जिन्दगीको किताबमा धीरताको गाता लगाउन । सङ्घर्षका यी चरण आफ्नै भुराभुरीलाई पनि दन्त्यकथाझैँ भान भएको तीतो अनुभूति छ उनीसँग ।  

 पुनस्थापित बहुदलीय प्रजातन्त्रले जनजीविकाको सवालमा माखो मार्न नसकेपछि आहत थिए उनी । प्रस्ट थिए कि हावा पनि चल्ने दियो पनि बल्ने सम्भावना कति पो हुन्छ र ! कम्युनिस्ट घोषणापत्रदेखि  रुसी क्रान्ति, पेरिस कम्युन, चिनियाँ जनक्रान्ति जस्ता कतिपय कम्युनिस्ट पुस्तकहरू उनले अध्ययन गरिसकेका थिए जसले एक खाले उद्वेलन पैदा गर्थ्यो, गरीखाने मान्छेहरू चरम शोषित भएको विषयमा ।  
 नौलो जनवादी व्यवस्था कहिले ल्याउन सकिएला ? ध्येय एउटै थियो । पार्टीगत रुपमै भन्ने हो भने पनि उनी बि.सं. २०४४ मै तत्कालीन नेकपा (मशाल)सँग आबद्ध भइसकेका थिए भने त्यसैको भातृ सङ्गठन अ.ने.रा.स्व.वि.यु. (छैटौँ) सँगको सान्निध्यता अझ पहिलेदेखि नै । लागिरहन्थ्यो, निमुखालाई न्याय र निर्धनलाई आय हुने समतामूलक समाज कहिले स्थापना गर्न सकिएला ? 

यो चकमन्नता कसले चिर्ला त ? नभन्दै ठीक त्यही सेरोफेरोमा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धको घोषणा गर्यो । तिनका समाज रूपान्तरण गर्ने गतिविधिले उनलाई पनि प्रभाव पार्ने नै भयो। फलतः तिनैको पृष्ठपोषण गर्दै रहे । तर राज्यपक्ष आस्तेआस्ते निरङ्कुश बन्दै गयो र उनीहरू दैनिकझैँ जानुपर्ने ठाँटीबजारमा सुरक्षा चौकी स्थापना गर्यो । अब उनीहरूलाई निगरानी राख्ने, सोधपुछ गर्ने, डर–त्रास उत्पन्न गराउने, छापा मार्ने, शारीरिक र मानसिक यातना दिने र हुँदाहुँदा अन्नका भकारी फोर्नेसम्मका ज्यादती बढ्दै गए । ज्यादतीका शृङ्खला र  फेहरिस्तले त एउटा पुस्तक नै तयार हुने आकलन छ उनको ।  भने – ’झोसपोल गर्ने र सुराकीले दिने सास्तीबाट मुक्ति मिल्ला कि भनेर मैले कौडीको भाउमा झिटीझाम्टो मिल्काउँदै छोडेँ प्यारो थातथलो ।’  हेर्दाहेर्दै युद्धको अस्मेल भेलले बगायो उनीहरूलाई । वेदनाका सुस्केरा त थिए किन्तु ’तिमी जुन बाटो सजिलो छ त्यो होइन, जुन काम सही छ त्यो गर ।’ भन्ने आहानले झकझक्याइरहन्थ्यो पलपल । दुनियाँको करले फैसला बदल्ने वा आफ्नो फैसलाले दुनियाँ बदल्ने ! बाटा यिनैमात्र थिए ।  

त्यसैताक राज्य हतियारको बलले मुक्तिको लडाई समाप्त पार्न सकिन्छ भन्ने धुनमा थियो भने लडाकु आफूले सजिलै कब्जामा लिन सकिन्छ राज्यसत्ता भन्ने विभ्रमको आगो तापिरहेका थिए । करिब सत्र हजारको बलिदानीपछि दुवै तत्काल एक अर्कोलाई निषेध गर्न नसक्ने निष्कर्षमा पुगे र सम्झौतामा टुङ्गियो जनसमर । दुसाध्य हुन्छ सत्यपथ भन्ने बोध भयो नयाँ समाज परिकल्पनासहित् होमिएको युद्धरत पक्षलाई पनि । सम्झौतापछि पनि नौलो राज्यव्यवस्था प्राप्त हुन सकेन बरू आंशिक सुधारमै सीमित भए समरयात्रीका सपना र त्यसैमा चित्त बुझाउनुपर्ने खण्ड आइपर्यो आम जनमानसले । यता उनको यात्रा भने थप काँडा बिछ्याइएको यात्रा थियो । आफैँले शेयर हालेर निजी स्कुलमा पढाउनुपर्ने अवस्था आइपर्दा पनि जनतालाई सुसूचित बनाउन मुक्तिको सन्देश जनसमक्ष पु¥याउनै पर्छ भन्ने महसुस भयो । तसर्थ आफू सम्पादक रहेर प्रकाशित गर्ने गरी दर्ता गरे ’चुरे सन्देश’ साप्ताहिक । एकातिर प्रशासनिक धरपकड तथा पटकपटक पत्रिकाको जफत अर्कातिर दुश्मनहरूको निरन्तर धम्की । आर्थिक अभावका किस्सा त कति हुन् कति । यस्तो विषम परिस्थिति झेल्दै निरन्तरता पाइरह्यो अखबारले । अब भने उनलाई जनमुक्ति आन्दोलनलाई नै भावभूमि बनाई उपन्यास लेख्ने अभिलाषा जाग्यो । 

यसैबीच अध्यापनका सिलसिलामा नुवाकोटको कुमरी जानैपर्ने अवस्था आइपर्यो । कुमरी अर्थात् मध्यक्षेत्रको रोल्पा । अघि बढ्यो जागिर पनि, राजनीतिक गतिविधि पनि । तर स्थायी प्रकृतिको बसाइँ यहाँसमेत हुन सकेन । शिक्षक सेवा आयोगले मा.वि.मा नाम निकालेपछि हानिए उनी मिर्लुङ्कोट, तनहूँ ।  अनपेक्षित विडम्बना त के भयो भने नियुक्ति लिनका निम्ति तत्कालीन माओवादीबाटै तगारो तेर्स्याइयो । परन्तु धेरै समय टिकेन विद्रोही अवरोध  स्थायी शिक्षकको हकमा । सालाखाला आठ वर्षको मिर्लुङ्कोट बसाइँपछि प्राचार्य बन्ने शर्तसहित् उनको पुनरागमन भयो चितवनमै ।  थुप्रै सपना टुटेपछि र इरादा चोइटिएपछि पनि हिम्मत हारेनन् उनले । जनमुक्तिको टाकुरो चढ्न खोजेको योद्धालाई स–साना तगाराले कसरी पो छेक्थ्यो र ? उनी जुन विद्यालयमा  आए , व्यापक सुधार गरे चाहे शैक्षिक होस् वा व्यवस्थापकीय । स्तरीकरणको मानक मानिने प्रवेशिका परीक्षाको नतिजा झण्डै शत प्रतिशत पुर्याइदिए भने उ.मा.वि.को पनि त्यही आसपास ।

 बुबाको देहावसान पश्चात् नै विरक्तिएको र  विक्षिप्तझैं बनेको मन आमाको कीर्तिशेषपछि थप बल्झिएको थियो । भन्छन्  – ‘यदि मैले गरेको आमूल शैक्षिक सुधारका काम आमाले देख्नु र सुन्नुभएको भए कति मखलेल हुनुहुन्थ्यो होला ?’ असह्य पीडाको त्यो बेला उनलाई अन्तस्करणले ‘सांसारिक आलोक’ लेख् भन्यो र शुभारम्भ गरे पनि । दुई सय पृष्ठसमेत लेखिसकेका हुन् किन्तु असङ्ख्य ऊहापोहले किचिएपछि अधुरै रह्यो  पहिलो पुस्तक जन्माउने उत्कट इरादा । अझ द्वन्द्वकालको अन्त्यतिर त पाण्डुलिपि नै पो गायब ।  यसरी सेरियो एउटा सग्लो सपना । मान्छे ताकतले होइन, सहनशीलताले चिनिन्छ भन्ने लागेर नै हरेस खाएनन् उनले । पछिल्लो कालखण्डमा उनी आख्यान, गैरआख्यान र कवितामा कलम चलाइरहेछन् । अझ आख्यान त उनको सर्वाधिक प्रिय विधा नै हो । अब रह्यो एउटा सङ्गिन सवाल । एउटा गुरु लेखनको क्षेत्रमा कसरी प्रवेश गरे त ? जिज्ञासा भुइँमा खस्न नपाउँदै गम्भीर जवाफ आउँछ – ’नवसंसार निर्माण अभियानमा एउटा इँटा थप्न ।’ तर अपेक्षाकृत कमजोर आभास हुने रचनाले भने बेलाबखत रन्थन्याउँछ मथिङ्गल । परिष्कार पर्खंदै आजतक दराजमा धुलो बटुलिरहेछन्, तीनवटा आख्यान सङ्ग्रह । त्यसो त  न त बजारले नै चिनेको छ उनलाई  न कसैको दैलो चहार्छन् उनी जीहजुरी गर्दै । बजारको सीमामा बसेर पनि दुर्गमझैँ बनेको छ बजार उनका हकमा ।  पिठोलाई चामल भनेर बेच्ने जमानामा उनी झिनुवाको चामललाई दर्मालीको भाउमा बेच्न पनि लजाएको प्रतीत हुन्छ । 

अध्ययनताकाको आर्थिक सङ्कट नै सकसपूर्ण क्षण सम्झने उनको सर्वाधिक दुःखद क्षण भने करिब आठ वर्ष अघि अर्बुदरोग पुष्टि भएको क्षण हो । सारा अत्यावश्यक परीक्षणपछि तत्काल शल्यक्रिया नगरे ज्यान नै तलमाथि हुनसक्ने चिकित्सकको चेतावनीले उनलाई बेहद रन्थन्यायो । ‘मेरो मुटुले ठाउँ छोड्यो । संसार नियाल्ने दिन सायद सकिएछ झैँ लाग्यो । तिर्मिराए एक जोर नजर । सोचेँ– लेख्दालेख्दै मेटिने भए कथाका अक्षरहरू । बग्दाबग्दै भाँचिने भयो कलमको निब । न नशामा रगत बग्छ, न शरीर नै दुरुस्त नै । शल्यक्रियामाथि थप किमो  ! फर्केर हेर्दा पनि कहाली लाग्छ ती दिन !’ दुर्दिनका अनुभूति बाँड्छन् उनी । फेरि गरे मन्थन र मनन । सम्झे उनै चाणक्यलाई–
 

 कस्यं दोषः कुले नास्ति व्याधिना को न पीडितः ।
 व्यसनं केन न प्राप्तं कस्य सौख्यं निरन्तरम् ।।

 अर्थात् कसका कुलमा दोष छैन, रोगले सताइएको को छैन, अम्मलमा नपरेको को छैन, सुखमात्रै कसलाई होला  ? आजभोलि त यो नाफाको जिन्दगीमा केही विशेष गर्नैछ उनले । सूत्र र निजी मन्त्र नै हो उनको सकारात्मक सोच । कहालीलाग्दो दुर्घटनामा पनि झ्याप्पै निभेन जीवन । एक किसिमले हेर्दा त झन् भरभराउँदो पो हुँदैछ । ‘काललाई पुनःपछारियो एक बाजी । सिद्ध गर्नुछ– साहित्य आँसुमा ओइलाउन्न । चाँदलाई लक्ष्य बनाइयो भने लक्ष्य नै चुकेछ भने पनि तारा त कसो प्राप्त  नहोला  !’ थपे – ‘कुनै वृहत् योजना त छैन किन्तु तयारी पाण्डुलिपिलाई पुस्तकाकार दिनैपर्छ भन्ने छ । आखिर सफलताको शिखर चुम्नेहरू पनि त ओर्लनैपर्छ आधार शिविर ।’ प्रसङ्ग बदल्दै र उद्वेलित हुँदै भने– ‘मलाई फतुर धरेर थातथलोबाट विस्थापित गराउनेभन्दा म त सुखी नै छु । बरू भत्भती त तिनीहरूलाई पो पोल्दैछ आफ्ना काला कर्तुतले । पश्चातापको अग्निकुण्डमा जलिरहेछन् तिनीहरू ।’ एक पृथक् जिज्ञासामा बाँचेको समय र भोगेको कालखण्डलाई नै आख्यानीकरण गरेको जिकिर गर्दै थपे– ‘व्यक्तिका मनोदशा, देशकाल र परिस्थिति जस्ता पाटापक्ष पर्गेलेको छु निकट भविष्यमा पाठकलाई सुम्पन लागेको कथा सङ्ग्रह ’समयका डोबहरू’मा ।’ लेखेकै कारण सेवा निवृत्त जीवनमा पनि नयाँ सम्पर्क जोडिएकोमा भने बिछट्टै मखलेल छन् उनी ।

प्रतिक्रिया दिनुहोस