‘ए’ डिभिजन लिग : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १५ : ०४
‘ए’ डिभिजन लिग : ब्रिगेडमाथि मछिन्द्रको सहज जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोल अन्तरले हराएको हो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो ।

खेलको ५६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए ।

खेलको ८६ औं मिनेटमा मछिन्द्रका अविशेक रिजालले गोल गरेका थिए। तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । त्यसपछि खेलको इन्जुरी समयमा अविशेकले गोल गर्दै मछिन्द्रलाई ४–० गोलको जित दिलाए ।

यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । शीर्ष स्थानको मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ । ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस