स्वर्गद्वारीको १८० बिघा जग्गा बिचौलियाको कब्जामा

पत्रपत्रिकाबाट

शनिबार, ०१ माघ २०७८, ०८ : ०२
स्वर्गद्वारीको १८० बिघा जग्गा बिचौलियाको कब्जामा

दाङ । दाङको स्वर्गद्वारी आश्रमको १ सय ८० बिघा जमिन भूमाफियाको कब्जामा छ । लमही नगरपालिकाको अर्नहवा र घोराही उपमहानगरपालिकाको रामपुर क्षेत्रमा रहेको आश्रमको जमिन बढी अतिक्रमणमा परेको हो । ती जग्गामा ठूल्ठुला घर बनेका छन् । अतिक्रमित जग्गाको मूल्य खर्बोपर्ने आश्रमका अधिकारीहरू बताउँछन् ।  

आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले आश्रमको करिब दुई सय बिघा जमिन भूमाफियाको कब्जामा रहेको बताए । अधिकारीका अनुसार, आश्रमको नाममा १२ सय बिघा जमिन छ । त्यसमध्ये १ सय ५० बिघा सार्वजनिक बाटोमा परेको छ । केही जमिनमा मोही छन् । ६० बिघा जमिन आश्रमले प्रयोग गरेको छ । बाँकी १ सय ८० बिघा जमिन भूमाफियाको कब्जामा रहेको प्रशासकीय अधिकृत अधिकारीले जनाए ।

दाङको लमही, घोराही र तुलसीपुरमा रहेको आश्रमको जग्गा कब्जा गर्नेहरूको संख्या आठ सयभन्दा बढी रहेको आश्रमका कर्मचारीहरू नै बताउँछन् । माओवादीको दसवर्षे सशस्त्र द्वन्द्व सुरु भएदेखि आश्रमको जग्गा कब्जा हुन थालेको हो । ‘अतिक्रमण गर्नेहरू कुनै पनि हिसाबले आश्रमसँग जोडिएका छैनन्,’ प्रशासकीय अधिकृत अधिकारीले भने, ‘कुनै प्रकारले नजिक नभएका अवैध व्यक्तिहरूको कब्जामा जग्गा परेको छ । कानुनी रूपमा उनीहरूसँग केही प्रमाण छैन ।’ 

स्वर्गद्वारी आश्रमको दाङमा रहेको खर्बौं मूल्य पर्ने जग्गा अतिक्रमणबाट जोगाउनु अहिले चुनौती बढिरहेको अधिकारीहरूको भनाइ छ । ‘वास्तविक मोहीलाई आश्रमले सम्मान गर्नुपर्छ तर अतिक्रमणमा परेको जग्गालाई फर्काउन सक्नुपर्छ,’ अधिकारीले भने, ‘जग्गा फर्काउनु धेरै चुनौतीपूर्ण छ ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस