कोरोना संक्रमण : स्वास्थ्यकर्मी आइसोलेसनमा, सेवा प्रवाहमा सकस

पत्रपत्रिकाबाट

शुक्रबार, ३० पुस २०७८, ०७ : ५७
कोरोना संक्रमण : स्वास्थ्यकर्मी आइसोलेसनमा, सेवा प्रवाहमा सकस

काठमाडौं । स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन्। जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ। काठमाडौं, भक्तपुर र ललितपुरका कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठूलो जनशक्ति संक्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ। 

टिचिङ अस्पताल महाराजगन्जमा एक सातामा ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेका अनुसार स्वास्थ्यकर्मी संक्रमित हुँदा शल्यक्रिया लगायतका सेवा प्रवाहमा समस्या छ। डा. काफ्लेले भने, ‘बिरामीको परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। त्यसपछि स्वास्थ्यकर्र्मीको परीक्षण गर्दा उहाँहरूमा पनि संक्रमणको पुष्टि भयो।’ शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सकलगायतका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। 

निजामती कर्मचारी अस्पतालमा चिकित्सक सहित ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेलले  चिकित्सक, नर्स र ल्याबमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा सर्वसाधारणको उपचारमा चुनौती थपिएको बताए। उनले भने, ‘कोरोना संक्रमित बिरामीलाई गर्दै आएको सेवा प्रवाहलाई अब निरन्तर रूपमा चुस्त ढंगले कसरी गर्ने भन्ने चुनौती बढेको छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।