सामान्य कर्मचारी दीपक पोखरेल कसरी बने अर्बपति ?

सफल खबर संवाददाता

बुधबार, २८ पुस २०७८, १८ : १६
सामान्य कर्मचारी दीपक पोखरेल कसरी बने अर्बपति ?


विराटनगर। सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल कुनै समय सामान्य कर्मचारी थिए । अहिले उनी अर्बपति बनेका छन् । डेढ दशकमै उनी कसरी बने अर्बपति ? उनी यतिबेला स्रोत नखुलेको पैसा भेटिएको आरोपमा राजस्व अनुसन्धान विभागमा बयान दिइरहेका छन्।

विराटनगरबाट सौर्य एयरलाइन्समै कार्यरत रेसा शाक्य पोखरेलबाट ५० लाख रुपैयाँ बरामद भएपछि दीपक छानबिनमा तानिएका हुन्। रेसासहित सौर्यका तीन जना कर्मचारी पक्राउ परेपछि अध्यक्ष दीपकले सौर्यकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको दाबी गर्दै कर्मचारी छाड्न आग्रहसहित पत्र पठाएका थिए।

त्यही पत्रका आधारमा दीपकले बिहीबार विभागमा मौखिक बयान समेत दिइसकेका छन्। विभागले प्रारम्भिक रूपमा तयार पारेको प्रतिवेदनमा पोखरेलको आर्थिक हैसियत छोटो समयमा माथि पुगेको देखिएको छ। दीपकले २०४९ मा झापाको चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा मुखिया पदमा जागिर खाएका थिए।

त्यो बेला उनी हालको भद्रपुर नगरपालिका ७ जागृतिनगरमा हेमराज पोखरेलका घरमा डेरा बस्थे। फाइल बढुवा भएर खरदार भएपछि झापाबाटै जागिर छाडेका दीपकले १० वर्षअघि नै भद्रपुरमा घर बनाइसकेका छन्। उनी अहिले भद्रपुरको पाथीभरा अस्पतालका सञ्चालक हुन्। झापाका विभिन्न ठाउँमा चिया बगान छन्।

राजधानी काठमाडौंमा सौर्य एयरलाइन्स त चलिरहेकै छ। काठमाडौंमै उनको आलिसान महल पनि ठडिइसकेको छ। अहिले उनी अर्बपति हुन्।जिल्ला प्रशासनमा काम गर्दा नै उनको आर्थिक हैसियत बलियो बनाएका थिए। त्यही बेला रक्तचन्दनको लाइन खुल्यो। त्यो बेलामा रक्तचन्दनको ओसारपसार ह्वात्तै बढ्यो।

त्यसको प्रत्यक्ष र परोक्ष लाभ उनले समेत पाए। त्यही बेलामा सुपारीको व्यापारमा पोखरेल जोडिए। सुपारीमा पोखरेलको कनेक्सन पनि रोचक छ। इन्डोनेसियाबाट आयात गरिएको सुपारी ६० को दशकको सुरुआतमा भारततिर संगठित रूपमा चोरी निकासी गरिन्थ्यो। त्यही बेला सुपारीका क्यारियरहरूले आफ्नो क्यारिङ चार्ज ह्वात्तै बढाए।

‘क्यारियरहरू सुपारी भारततर्फ पार गरेको चार्ज प्रतिकिलो १० रुपैयाँका हिसाबले लिन्थे,’ एक पैठारीकर्ताले भने, ‘तर सुपारीमा हुने आकर्षक नाफा थाहा पाएपछि क्यारियरहरूले प्रतिकिलोको क्यारिङ चार्ज १० बाट बढाएर एकै चोटि ४० रुपैयाँ पुर्‍याए। यसपछि पैठारीकर्ताहरूले अर्को बाटो पक्रिए। त्यो बाटो थियो, इन्डोनेसियाबाट आयातित सुपारीलाई नेपाली उत्पादन भन्ने कागज बनाएर आधिकारिक रूपमा भारत निकासी गर्नु।’

सुपारीका आयाकर्ता अधिकांश मारवाडी समुदायका थिए। उनीहरू झापाका प्रदीप मित्तल र गोविन्द सरिया तथा विराटनगरका दिनेश राठी लगायत थिए। उनीहरूलाई आफ्नो निकासीको उद्देश्य पूरा गर्न प्रहरी(प्रशासन, राजनीतिक दल, डन, पत्रकार आदि सबैसित राम्रो सम्बन्ध भएको र सम्बन्ध राख्न पनि सक्ने पहाडे मूलको चल्ताफिर्ता युवक चाहिएको थियो। यस्तो व्यक्ति खोज्दै जाँदा आयातकर्ताले फेला पारेका युवक थिए, दीपक पोखरेल।

आयातकर्ताले पोखरेललाई सुपारी निकासीको आकर्षक योजना सुनाएपछि उनी यसतर्फ तानिए। तर कानुनी बाटो कसले देखाइदिने भन्ने उनलाई समस्या थियो। तर त्यसको बाटो पनि खुल्यो। विराटनगर(३ का कृष्णप्रसाद भण्डारी वाणिज्य कार्यालयको नासुमा कार्यरत थिए। दीपकको पहिलेदेखि भण्डारीसित चिनजान थियो।

उनै भण्डारीले दीपकलाई सुपारी खेती विकास समिति दर्ता गर्न र आयातित सुपारीको उत्पत्तिको प्रमाणपत्र बनाएर सोही समितिका नाममा भारत निर्यात गर्ने बाटो देखाइदिए। भण्डारीको स्कुलिङले काम गर्‍यो। दीपकको प्रगति चामत्कारिक रूपमा हुन थाल्यो। यसपछि उनी आफैँ आयातकर्ता र आफैँ निर्यातकर्ता हुन थाले।

तर विवादपछि सुपारी आयात रोकिएको थियो। गत वर्ष केपी शर्मा ओली सरकारका पालामा परिमाणात्मक बन्देज लगाउँदै २५ हजार टन सुपारी आयात गर्न दिइएको थियो। यो सुपारीको कोटा पाउनेमा पोखरेलकै समूह थियो।

प्रतिक्रिया दिनुहोस