मेला महोत्सव स्थगित हुँदा स्टेज कलाकारहरु समस्यामा

सफल खबर संवाददाता

मंगलबार, २७ पुस २०७८, २० : २०
मेला महोत्सव स्थगित हुँदा स्टेज कलाकारहरु समस्यामा

काठमाडौँ । कोरोना कालमा हिट भएका केही कलाकारले स्टेजको स्वाद चाख्न पाएनन्। स्टेजबाटै जीविकोपार्जन गर्दै आएका कति कलाकारको जीवन नै असहज भयो।

नयाँ तथा पुराना कलाकार मेला महोत्सवमा रमाइरहेका थिए। दुवै खालका कलाकारका लागि समय बिस्तारै सहज बन्दै गएको थियो। तर विश्वमा पुनः तेस्रो लहरको कोरोना फैलिन सुरु भएदेखि नै भैरहेका मेला महोत्सवको पनि विरोध सुरु भएको थियो।

नेपाल सरकारले २५ जना भन्दा धेरै भेला नहुन आग्रह गरिसकेको छ। माघ १५ गतेसम्म देशभरका विद्यालय पूर्ण रुपमा बन्द गर्न शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको छ। स्वास्थ्य मन्त्रालयले पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोनाको नयाँ भेरियन्टको यो फैलावटसँगै देशभर घोषणा गरिएका मेला महोत्सवहरु धमाधम रद्द हुन थालेका छन्। 

चितवनमा सुरु भएको ‘चितवन महोत्सव’ सक्ने चटारोमा छन् आयोजक। सोही महोत्सवमा जान तयार भएका गायक हेमन्त शर्मा कोरोनाकै कारण महोत्सवमा गएनन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू महोत्सवमा नजाने बताएका छन्। शर्मा लेख्छन्, ‘कोभिड नियन्त्रणका निम्ति प्रशासनले लगाएको रोकका कारण आज ‘चितवन महोत्सव’मा म उपस्थित हुने भइन।’

यसअघि गायक शर्माले ‘गोरखा महोत्सव’, ‘बाग्लुङ महोत्सव’ लगायतका केही महोत्सवमा मेला भर्न भ्याएका थिए। मेला महोत्सव बन्द हुँदा व्यक्तिगत रुपमा घाटा भएपनि सुरक्षाका हिसावले राम्रो भएको उनको तर्क छ। 

गायिका तथा प्रस्तोता मन्जु पौडेल पनि मेला महोत्सव सुरु भएपछि निक्कै ब्यस्त थिइन्। मन्जु देशभर हुने प्रायजसो महोत्सव उद्घोषणका लागि छानिने प्रस्तोता हुन्। मन्जुले पनि आफू पहिले प्रस्तोता त्यसपछि मात्रै गायिका रहेको बताउँदै आएकी छिन्। 

कोरोनाका कारण लामो समय बन्द भएको महोत्सव सञ्चालनका क्रममा सुरुमा मन्जुका हात काँपेका थिए। मानिसहरुको भिड देखेर आत्तिएकी थिइन्। भिडसँग बिस्तारै पुनः बानी पर्दै गर्दा कोरोनाको नयाँ लहर फैलिने क्रम बढेर गयो। मञ्जुले प्रशासनले रोक लगाउनु अघि नै सेड्युलमा रहेका मेला महोत्सव क्यान्सिल गरिन्। भन्छिन् ‘जीवन पहिलो प्राथमिकतामा पर्छ। त्यो पछि अन्य कुरा।’

प्रशासनले २५ जना भन्दा धेरै एक ठाउँमा भेला नहुन भनेपछि भने देशभर आयोजना हुन लागेका मेला महोत्सवहरु बन्द हुन थालेका छन्। चितवनमा सुरु हुन लागेको ‘रत्ननगर महोत्सव’ स्थगित गरिएको छ। मेला सञ्चालनको संघारमा आएर महोत्सव स्थगित गर्नु परेपछि अहिले त्यहाँ महोत्सवका लागि खडा गरिएका स्टलहरू हटाउने काम भैरहेको छ। 

चितवनमा जिल्ला प्रशासन कार्यालय चितवनले नै मेला महोत्सव बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको सर्वपक्षीय बैठकले चितवनमा हुने मेला महोत्सव बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस