चितवनमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन शुरु

विहीबार, १६ कार्तिक २०७४, २३ : ४६
चितवनमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन शुरु


चितव । चितवनमा बिहीबारदेखि विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा भएको सम्मेलनमा बिहान १० बजेदेखि क्यान्सर अस्पतालको शल्यक्रिया कक्षमा भएको शल्यक्रिया प्रविधिमार्फत सम्मेलन हलमा देखाइएको थियो । शल्यक्रियाको पद्धतिबारे प्रत्यक्ष हेरेर अनुभव आदानप्रदान भएको सम्मेलन आयोजक समितिका सचिव डा. उमेश नेपालले जानकारी दिए ।
विभिन्न विज्ञबाट ६ वटा कार्यपत्र प्रस्तुत भई छलफल भएको आयोजक समितिका संयोजक डा. भोलाप्रसाद रौनियारले जानकारी दिए । कात्तिक १८ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका तीन सय जना विशेषज्ञ चिकित्सकको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका विशेषज्ञहरु सहभागी रहेको रौनियारले बताए । राजधानीबाहिर सम्मेलन पहिलोपटक चितवनमा आयोजना भएको सम्मेलनको औपचारिक उद्घाटन भने शुक्रबार क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस