किसानमाथि सिन्डिकेट

पत्रपत्रिकाबाट

मंगलबार, ०६ पुस २०७८, ०७ : २१
किसानमाथि सिन्डिकेट

काठमाडौं । डुडुवा–२ का किसान तिलकराम बर्माले ६ बिघामा जग्गामा धान उत्पादन गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उब्जनी भयो।

त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो। बर्माले ३० क्विन्टल बिक्रीका लागि मात्र कृषि ज्ञान केन्द्रबाट सिफारिस पाए। उनीजस्तै राप्तीसोनारी–४, बैजापुरका किसान रामप्रसाद थारुले पनि सिन्डिकेटका कारण उत्पादन भएको सबै धान बेच्न सकेनन्।

४० क्विन्टल उत्पादन गरेका उनले ३० क्विन्टल मात्र बेच्ने सिफारिस पाए। बेमौसमी वर्षाले ठूलो क्षति भोगेका बाँकेका किसानलाई उत्पादन भएको सबै धान बेच्न नपाउँदा चोटमाथि चोट थपिए जस्तो भएको छ।

कृषि ज्ञान केन्द्रको सिफारिसअनुसार मात्र उनीहरूले धान बिक्री गर्न पाए। ‘मैले उत्पादन गरे जति धान बेच्न नपाउने कस्तो अवस्था आयोरु’ रामप्रसादले भने,‘यो वर्ष किसानको ढाड सेक्ने गरी नियम लागू गरियो।’

किसानले चाहे जति बिक्री हुने वातावरण सरकारले बनाइदिनुपर्ने भन्दै अर्का नेपालगन्ज–१८, भुजइगाउँका रामपाल कुमालले भने, ‘त्यति मेहनत गरेर उब्जनी गरेको धान बिक्री गर्नै समस्या हुनु दुखद हो।’

उत्पादन भए जति धान बेच्न नपाउँदा किसान मारमा परेका छन्। ‘एकातिर सरकारले समयमै धान खरिद गरेन,’राप्तीसोनारी–४, का राजन चौधरीले भने, ‘यसरी किसानमाथि सिन्डिकेट लाद्नु किसानको पेटमा लात हान्नु जस्तै हो।’ कृषि ज्ञान केन्द्रले भने यस वर्ष जग्गाधनी प्रमाणपत्र ९लालपूर्जा० हेरेर मात्र धान बेच्ने सिफारिस दिएको छ। नागरिक दैनिकमा खबर छ ।