गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरिएको ‘मासुजन्य उत्पादन अनुदान कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका ६१ जना किसानलाई ६ लाख ३०५ रुपैयाँ बराबरको अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
कार्यक्रमले मासुजन्य उत्पादन वृद्धि मात्र नभई विस्तारै स्थानीय रोजगारी सिर्जनामा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मासुजन्य उत्पादनका आधारमा अनुदान प्राप्त गर्ने किसानले ९०० देखि ५० हजारसम्म नगद अनुदान प्राप्त गरेको गाउँपालिका पशुसेवा शाखाका प्रमुख हर्क कार्कीले जानकारी दिए ।
‘अनुदानका लागि किसानको गोठमै पुगेर स्थलगत निरीक्षण तथा नापतौल गरेर अनुदान वितरण गरिएको छ’, उनले भने, ‘अनुदान कार्यक्रमले किसानमा व्यावसायिक पशुपालनतर्फको आकर्षण बढ्न थालेको छ ।’
गाउँपालिकाले खसीको मासुमा प्रतिकेजी ३०, राँगाको मासुमा १५, बङ्गुरको मासुमा ४० र बोइलर कुखुराको (३५–४५ दिन उमेरका) प्रतिगोटा ७० रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको छ । अनुदान प्राप्त गर्ने किसानलाई बैंक खातामार्फत भुक्तानी दिने गरिएको प्रमुख कार्कीले बताए ।
गाउँपालिकाले वडा नम्बर १ का नौ जना, वडा नम्बर २ का २२ जना, वडा नम्बर ३ का एक जना, वडा नम्बर ४ का तीन जना, वडा नम्बर ५ का दुई जना, वडा नम्बर ६ का तीन जना र वडा नम्बर ७ का २१ जना किसान लाभान्वित भएका छन् । मासुजन्य उत्पादनमा अनुदान पाएपछि किसान खुसी भएका छन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागिसमेत मासुजन्य उत्पादन अनुदानका लागि बजेट विनियोजन गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुदान उपलब्ध गराउन उखु किसानको माग
हल गोरु पाल्ने किसानलाई पालिकाले १० हजार दिने
प्याजले उचित मूल्य नपाउँदा चितवनका किसान चिन्तित
'इकोहिमाल' को प्रेरणाले बनायो बिकास शाही लाई सफल किसान
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
सर्लाहीका किसानलाई मौरीका ५३२ घार वितरण