शक्तिखोरमा सहयोग हस्तान्तरणसँगै सहभोज र स्वास्थ्य शिविर

सूर्यप्रकाश कँडेल

सोमबार, १७ बैशाख २०७५, १८ : २२
शक्तिखोरमा सहयोग हस्तान्तरणसँगै सहभोज र स्वास्थ्य शिविर

चितवन । फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्थाले चितवन समाज जापानको विशेष सहयोगमा आज सोमबार चितवनको कालिका नगरपालिका ९, शक्तिखोरमा सहयोग हस्तान्तरण, सहभोज र स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।
कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राप्ती नगरपालिका २ का सरोज चेपाङलाई सम्मानसहित ११ हजार पाँच सय रुपैयाँ सहयोग गरिएको छ । प्यारामोटर बनाएर चर्चामा आउनु भएका सरोजलाई मिनी एयरक्राफ्ट निर्माणका लागि आर्थिक संकट परेपछि आर्थिक सहयोग गरिएको फेन्सी व्यवसायी संघका प्रवक्ता विवेक कँडेलले बताउनु भयो ।
यसैगरी, शक्तिखोरमा रहेका आधारभुत विद्यालय भ्युरान, लटौली र राजवनमा अध्ययनरत एक सय ९५ जना विद्यार्थीलाई झोला, कापी, कलम, साबुन र मञ्जन सहयोग गरिएको छ । लटौली खानेपानी आयोजनालाई डेढ इञ्चको दुई किलोमिटर तीन सय मिटर पोलिथिन पाइप समेत सहयोग गरिएको थियो । कार्यक्रममा आठ लाख रुपैयाँ बराबरका सामान सहयोग गरिएको संघका प्रवक्ता कँडेलले बताउनु भयो ।
नेशनल सिटी हस्पिटलको दन्त विभाग र चितवन मेडिकल कलेजको कलेज अफ डेण्टल साइन्सको सहयोगमा निःशुल्क दन्त शिविर एवं भरतपुर सामुदायिक अस्पतालको सहयोगमा स्त्री तथा प्रसुति र फिजिसियन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । दुबैतर्फ गरी दुई सय ८७ जनाले स्वास्थ्य परीक्षण गराएको कार्यक्रम संयोजक कृष्ण कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन आएका विद्यार्थी, तिनका अभिभावक, स्वास्थ्य शिविरमा स्वास्थ्य जाँचका लागि आएका स्थानीय, कार्यक्रमका अतिथि र आयोजकहरुले कार्यक्रमस्थल सम्फरेङमा सामूहिक सहभोज गरेका थिए । आयोजकले उपलब्ध गराएका खाद्य सामग्रीबाट स्थानीयले दाल, भात, तरकारी, अचार र सलाद बनाएका हुन् ।
फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष बालकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष विजय तण्डुकार, फेन्सी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश गैरे, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, पूर्ववरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, घरबहाल उपभोक्ता समिति चितवनकी अध्यक्ष पवित्रा जोशी लगायतले मन्तव्य व्यक्त गर्दै सामाजिक कामको प्रशंसा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस