दुई वर्षपछि एक घण्टामै शक्तिखोरबाट फिस्लिङ पुगिने

सूर्यप्रकाश कँडेल

सोमबार, १७ बैशाख २०७५, १६ : ४१
दुई वर्षपछि एक घण्टामै शक्तिखोरबाट फिस्लिङ पुगिने

चितवन । नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर सडक बिस्तारको काम तीन वर्षमा पनि पूरा नुहँदा यसको विकल्प खोजी गर्ने क्रममा चितवनको शक्तिखोरबाट फिस्लिङसम्म पुग्ने सडक निर्माण हुने भएको छ । शक्तिखोरबाट ३८ किलोमिटर दुरी पार गरेर मुग्लिनभन्दा अलि पर फिस्लिङ निस्कने यो सडक निर्माणको प्रकृयामा रहेको छ ।
सिंगो शक्तिखोरसहित आसपासका अन्य क्षेत्र समेटिएको कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले सोमबार एक सार्वजनिक कार्यक्रममा बोल्दै शक्तिखोर–फिस्लिङ सडक निर्माण प्रकृया सुरु भइसकेको जानकारी दिनु भएको हो । ‘शक्तिखोरदेखि फिस्लिङ ३८ किलोमिटर सडकको लागि टेण्डर निस्किइसकेको छ’ फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको मितेरी कार्यक्रममा बोल्दै श्रेष्ठले भन्नुभयो, ‘दुई वर्षमा सडक निर्माण कार्य सम्पन्न हुनेछ ।’
एसियाली विकास बैंकको ७५ प्रतिशत र नेपाल सरकारको २५ प्रतिशत लगानीमा शक्तिखोर–फिस्लिङ सडक निर्माण गर्न लागिएको उहाँले बताउनु भयो । अब कालिकामा लगानी गर्नुपर्ने समय आएको बताउँदै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘शक्तिखोरमा लगानीको लागि आउनुहोस्, म सहयोग गर्छु ।’ मुलुकको समृद्धिको लागि हरेक व्यक्ति व्यवसायी हुनु पर्ने उहाँको भनाइ थियो ।
शक्तिखोर–फिस्लिङ सडक निर्माण भएपछि चितवनको आर्थिक विकासले फड्को मार्ने देखिन्छ । शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि अध्ययन प्रतिवेदनको काम सुरु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस