साताको शेयर बजार : ७३ अंकले घट्यो

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, १३ : २३
साताको शेयर बजार : ७३ अंकले घट्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७३ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्मको कारोबारमा नेप्से सूचकमा ७३ अंकको गिरावट आएको हो ।

साताको पहिलो दिन आइतबार २४ सय ४९ अंकबाट सुरु भएको कारोबार बिहीबारसम्ममा घटेर २३ सय ७६ अंकमा थामियो । सातामा कारोबार भएका पाँच दिनमध्ये चार दिन नेप्से सूचक नकारात्मक रहयो । सूचक आइतबार ८८ अंक, सोमबार ७९ अंक, बुधबार ४ अंक र बिहीबार ३७ अंकले घटेको थियो । यसबाहेक, मंगलबार एकैदिन नेप्सेमा १३७ अंकको सुधार आएको थियो । उक्त दिन नेप्से सकरात्मक सर्किट लाग्दै बन्द भएको थियो । यसबाहेक नेप्से अन्य सबै दिन घट्यो ।

यो साता नेप्सेमा आएको गिरावटबाट लगानीकर्ताले एक खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको बिहीबार ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यो साताको बिहीबार ३३ खर्ब ३१ अर्ब रुपैयाँमा आइपुगेको छ । साताका पाँच दिनमा बजारमा १६ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

साताभर दुई लाख ५२ हजार कारोबारमार्फत तीन करोड ६४ लाख कित्ता सेयर उक्त मूल्यमा किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस