बृद्ध भण्डारी दम्पती जो दैनिक पाँच सय कप चिया बेच्छन्

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, ११ : ५०
बृद्ध भण्डारी दम्पती जो दैनिक पाँच सय कप चिया बेच्छन्

जुम्ला । चन्दननाथ नगरपालिका २ का ६७ वर्षीय काशीराम भण्डारीले चिया पसलबाटै मनग्ये आम्दानी गरिरहेका छन्। भण्डारी दम्पतीले झन्डै २० वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएको छ ।

उनीहरू नगरपालिकामै प्रेरणाको स्रोत बनेका छन् । चिया पसलको कमाईबाटै उनले छोरीलाई अनमी पढाएका छन् । उनको पसलमा चिया खान ग्राहकको भिड लाग्ने गरेको छ । एक दिनमा पाँच सयभन्दा बढी कप चिया बिक्री हुने गरेको भण्डारीले बताए । चिया खान ग्राहकहरू झिसमिसेमै आउने गरेको उनी बताउँछन् । दैनिक ६० लिटर बढी दूधको चिया पकाउने गरिएको  उनले सुनाए ।

चिया पसलको कमाईबाटै स्याउ बगैंचा स्थापना गरेको भण्डारीले बताए । बगैंचामा उत्पादित स्याउबाट वर्षेनी एकदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ ।  पछिका लागि भनेर भण्डारी दम्पतीले दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् ।  चिया पसलको कमाईले कान्छी छोरीलाई अनमी पढाएको र अन्य छोराछोरीलाई पनि सहयोग गरिरहेको देवीकन्या भण्डारीले बताइन् ।