हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु

सफल खबर संवाददाता

मंगलबार, २१ मंसिर २०७८, २० : २७
हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु

सांकेतिक तस्वीर

काठमाडौं । हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु गरिएको छ । चिसो मौसम सुरु भएसँगै हिमपात तथा चिसोलाई मध्यनजर राख्दै हिमाली जिल्ला रसुवामा पूर्वतयारी सुरु गरिएको हो । 

हिमपातको समयमा जिल्लामा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी  हिमपातबाट जोगिन तथा हुनेसक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । 

हिमपातबाट प्रभावित हुन सक्ने संम्भावित स्थानको पहिचान गरी पूर्व तयारी सुरु गरिएको उनले बताए । क्षति न्यूनीकरणका लागि हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको छ ।  मंसिर मसान्तसम्म तयारी अवस्थामा रहने गरी २१ बुँदे कार्ययोजना निर्माण गरिएको उनले बताए । 

योजना अनुसार जिल्लामा हिमपातबाट प्रभावित क्षेत्र, परिवारका गरिब तथा विपन्न घर परिवारको पहिचान गरी लगत संकलन गरिने भएको छ । चिसोमा जोखिममा रहेका घरपरिवारका लागि हिमपातको समयमा न्यानो कपडा, तातो सुप, सिरक, डसना लगायतका सामग्री वितरण गरिने भएको छ । 

जाडोका लागि आवश्यक पर्ने काठ, दाउरा समयमै उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइने भएको छ । आपतकालिन अवस्थामा आश्रयस्थलहरू आवश्यक हुने हुँदा जिल्लाको २७ वटै वडामा आश्रय स्थलको पहिचान गरिने भएको छ । 

त्यसैगरि, जिल्ला स्थित पाँच वटै गाउँपालिकाका वडास्तरमा  हिमपात र चिसोबाट बच्नको लागि प्रहरी समुदाय साझेदारी कार्यक्रम  सञ्चालन गरिने भएको छ । स्वास्थ्यकर्मी तथा औषधिहरू  पर्याप्त मात्रामा राख्ने र द्रुत  प्रतिकार्य समूह परिचालन गरी तयारी अवस्थामा राखिने भएको छ । 

खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राखिने भएको छ । खोज तथा उद्धार सम्बन्धी तालिम प्राप्त कम्तीमा पनि ५० जना जनशक्ति तयारी अवस्थामा राखिने जनाइएको छ । हिमपहिरो खोज तथा उद्धारमा लाग्ने सामग्रीहरू खरिद गरी कम्तीमा १० जना जनशक्ति तयारी अवस्थामा राखिने जनाइएको छ । 

त्यसैगरि हिमपात, कुहिरो तथा हुस्सुबाट सडक दुर्घटना हुन सक्ने जोखिमयुक्त र सम्भावित सडक र पर्यटन पदमार्गमा सांकेतिक चिन्हहरू राखिने भएको छ । हिमपात तथा चिसोबाट सुरक्षित रहन सम्भावित आगलागी तथा निसासिने समस्याबाट बच्न सचेतनामूलक तथा सन्देशमूलक सूचना प्रसारण गर्ने, विपद्का घटनाहरूको सूचना संकलन गर्ने, विपद् प्रभावित व्यक्तिहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचार  लगायतका कार्यहरू गरिने भएको छ । 

यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तह, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, सञ्चारकर्मी लगायतलाई समन्वयात्मक रूपमा परिचालन गरिने गरी पूर्वतयारी कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी जैसीले बताए । 

हिमपातका कारण हरेक वर्ष जिल्लाको उत्तरी क्षेत्र प्रभावित हुने गरेको छ । हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुने गरेको  छ । जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजीन, गोसाईंकुण्ड, धुन्चेको लेक, ठूलोस्याफ्रु, ब्राबल, थुमन, गतलाङ, ठुलो हाकु, ग्रे, बृद्धिम, यार्सा लेक, चोलाङपाटी, लौरीबिना, नागथली, चन्दनवारि, गोसाईंकुण्ड लगायतका विभिन्न ठाउँमा बाक्लो हिमपात हुने गरेको छ । भने चिसोले जिल्लाको जनजीवन कष्टकर हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस