कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक !

सफल खबर संवाददाता

मंगलबार, २१ मंसिर २०७८, १३ : २९
कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै नयाँ नेतृत्व पाएको छ । युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षको रूपमा पाएको राप्रपा अहिले आन्तरिक तुषमा फसेको देखिन्छ । पूर्वराजपरिवारको हस्तक्षेपले लिङ्देन अध्यक्ष बनेको र आफू पराजित भएको आरोप निवर्तमान अध्यक्ष कमल थापाले लगाएका छन् । 

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नगई सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर बसेका थापाले पार्टी फुटाउन र नयाँ पार्टी गठन गर्न लागेको चर्चा चलेको छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले पदभार ग्रहण गर्दा आफू महामन्त्री हुँदा बस्ने गरेको कोठा र कुर्सी प्रयोग गर्नुलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । थापा नयाँ नेतृत्वसँग निकै असन्तुष्ट रहेको र उनले नयाँ पार्टी खोलन लागेको हल्लालाई बल पुगेको छ । 

तर, थापानिकट एक नेताका अनुसार उनलाई पार्टी फुटाउन गीता छोएर र ताप्लेजुङस्थित पाथीभारा देवीको मन्दिरमा खाएको कसम बाधक बनेको छ ।

थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको गरेको राप्रपाबीच एकीकरण घोषणा कार्यक्रममा अध्यक्षत्रयले अब पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका थिए । यसलाई गत बुधबार (१५ मंसिर)मा पार्टी एकता महाधिवेशनको उद्घाटन सत्रमा पनि अध्यक्षत्रय थापा, जबरा र लोहनीले स्मरण गरेका थिए ।  

योसँगै निवर्तमान अध्यक्ष थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देन पाथीभारा मन्दिरमा गएर अब पार्टी नफुटाउने र सँगैसँगै रहिरहने कसम खाएका थिए । जुन अहिले पार्टी फुटाउन थापालाई बाधक बनेको राप्रपाका नेताहरू बताउँछन् । 

२०७५ को दशैं र तिहारको बीचमा थापा र लिङ्देनले पाथीभारा मन्दिरमा गएर पार्टी नफुटाउने र सँगै रहने कसम खाएका थिए । ‘तत्कालीन अध्यक्षज्यू थापा र महामन्त्री लिङ्देनले पाथीभारा मन्दिरमा पार्टी नफुटाउने र सँगसँगै रहने कसम खानुभएको थियो’, राप्रपाका एक नेताले न्युज कारखानासँग भने, ‘यसर्थ उहाँले पार्टी फुटाउनु हुन्न होला ।’ 

थापानिकट एक नेताका अनुसार पनि थापा तत्कालै पार्टी फुटाउने मनस्थितिमा छैनन् । ‘अहिले नै निवर्तमान अध्यक्षज्यूले पार्टी फुटाउने मनस्थिति बनाइसक्नुभएको छैन’, थापानिकट ती नेताले न्युज कारखानालाई भने, ‘थापा र लिङ्देनले सँगै रहने पाथीभारामा कसम पनि खानुभएको थियो । सायद त्यही भएर होला अहिले नै पार्टी फुटाउने मनस्थिति बनाउनु भएको छैन ।’

पाथीभरा मन्दिरमा नेताद्वय थापा र लिङ्देनले कसम खाएपछि १५–३० फागुन २०७५ मा ताप्लेजुङबाट राप्रपाले मेची-काली स्वाभिमान यात्रा निकालेको थियो । सोही कसम र प्रतिबद्धताले अहिले थापालाई नयाँ पार्टी खोल्न बाधक रहेको नेताहरूको बुझाइ छ । 

तर, थापा भने आगामी रणनीतिबारे आफूनिकट नवनिर्वाचित पदाधिकारी र सदस्यसहित नेताहरूसँगको छलफल गर्ने तयारीमा छन् । ‘उहाँ (कमल थापा)ले अहिले नै पार्टी फुटाउने मनस्थिति बनाउनु भएको छैन’, थापानिकट ती नेताले भने, ‘तर, आफूनिकटका नेताहरूसँग बसेर अब गर्ने भन्ने विषयमा भने निर्णय लिनेछन् । उहाँ केही दिनमै नवनिर्वाचित पदाधिकारी र सदस्यसहित शीर्षनेताहरूसँग छलफल गरेर आगामी रणनीति बनाउने तयारीमा हुनुहुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस