एमसीसीको विरोधमा राष्ट्रिय जनमोर्चाले देशव्यापी कार्यक्रम गर्ने

सफल खबर संवाददाता

सोमबार, २० मंसिर २०७८, १६ : २८
एमसीसीको विरोधमा राष्ट्रिय जनमोर्चाले देशव्यापी कार्यक्रम गर्ने

काठमाडौं । सरकारले एमसीसी सम्झौतालाई अनुमोदनका लागि प्रस्तुत गर्ने सम्भावना देखिएको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । यसका विरुद्ध देशव्यापी कार्यक्रम गर्ने पनि सो पार्टीले जनाएको छ ।

एमसीसीसँग सम्बद्ध अमेरिकी उच्च अधिकारीहरू पटकपटक नेपाल आएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब दिइरहेको र मंसिर २८ गते संसदको हिउँदे अधिवेशन डाकिएको भन्दै राष्ट्रिय जनमोर्चाले उक्त सम्झौता अनुमोदनको प्रयास हुन थालेको आँकलन गरेको हो ।

‘हामीले पटकपटक स्पष्ट गर्दै आएका छौँ कि उक्त एमसीसी सम्झौता नेपालको बृहत्तर हित र दीर्घकालीन हितका दृष्टिले सही छैन,’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसकारण, त्यसलाई खारेज गर्न हामीले जोड दिएका छौँ ।’

तत्कालीन नेकपाले उक्त सम्झौताको बारेमा अध्ययन गर्न गठित कार्यदलले समेत यथास्थितिमा उक्त सम्झौता स्वीकृत गर्न नहुने कुरा प्रतिवेदनमा उल्लेख गरेको भन्दै विज्ञप्तिमा नागरिक समाज, अधिकांश राजनीतिक दलहरू, राष्ट्रवादी नेपाली जनताले उक्त सम्झौता अनुमोदन नगर्न दबाब स्वरुप संघर्ष गर्दै आइरहेको स्मरण गराइएको छ ।

‘पाँच दलीय गठबन्धन पनि यथास्थिति मै उक्त सम्झौता स्वीकृत गर्ने पक्षमा छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनको सरकारले आफ्नो नीति र कार्यक्रममा उक्त सम्झौतालाई अनुमोदन गर्ने कार्यसूची राखेको छैन ।’

एमसीसी सम्झौता राष्ट्रघाती रहेको र त्यसलाई खारेज गराउन र संसदबाट अनुमोदन गर्न नदिन देशव्यापी संघर्षको आवश्यकता पनि राष्ट्रिय जनमोर्चाले औंल्याएको छ । विज्ञप्तिमा जनाइएअनुसार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको बैठकले उक्त आवश्यकतालाई महसुस गरी मंसिर २६ गतेभित्र अनिवार्य रूपमा हरेक जिल्लामा एमसीसी समझौताको विरोधमा संघर्ष गर्न कोणसभा, जनप्रदर्शन, गोष्ठी वा अन्तरक्रिया आदि जे सम्भाव हुन्छ, त्यो गर्नका लागि मातहतका समितिहरूलाई निर्देशन गरिएको छ ।

संघर्षलाई बढी व्यापक र उच्च बनाउन विभिन्न मोर्चा र २२ दलीय तथा संघसंस्थाको गठबन्धनद्वारा पनि संघर्षका कार्यक्रम घोषणा गर्न प्रयत्न भइरहेको जनाइएको छ ।सो पार्टीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने होइन, त्यसलाई खारेज गर्ने संघर्षमा ऐक्यवद्धता प्रकट गर्न सम्पूर्ण राष्ट्रवादी जनसमुदायलाई अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस