किसानले विरोध गर्दै आएको कृषि कानुन खारेज गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

एजेन्सी

शुक्रबार, ०३ मंसिर २०७८, ११ : २२
किसानले विरोध गर्दै आएको कृषि कानुन खारेज गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

एजेन्सी । विगत एक वर्ष देखि कृषि कानुन खारेजीको माग गर्दै आन्दोलित बनेका भारतीय किसानहरुको माग पुरा गर्दै भारतीय सरकारले उक्त कृषि कानुन खारेज भएको घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज कृषि क्षेत्रको सुधारका लागि भन्दै ल्याइएका तीनवटा कानुनहरु खारेज भएको घोषणा गरेका छन्। देशबासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सरकारले ती तीनवटा कानुन खारेज गर्ने निर्णय गरेको बताएका हुन्। भारतीय किसानहरुले यी कानुनका विरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आइरहेका थिए।

पछिल्ला कानुनहरु कार्यान्वयनमा आएपछि कृषि क्षेत्रमा निजी क्षेत्रका खेलाडीहरु हावी हुने र किसानको आयस्रोत घट्ने उनीहरुको निष्कर्ष थियो। राजधानी नयाँ दिल्लीको सीमा क्षेत्रमा बसेर किसानहरुले एक वर्षयता लगातार प्रदर्शन गर्दै आइरहेका थिए।

किसानका युनियनहरुले सरकारको पछिल्लो निर्णयलाई ‘विजय’ का रुपमा उल्लेख गरेका छन्। तर आसन्न पन्जाब र उत्तर प्रदेशको निर्वाचनलाई मध्यनजर गरेर सरकारले यस किसिमको निर्णय लिएको हुन सक्ने विश्लेषकहरुको टिप्पणी छ। प्रधानमन्त्री मोदीले कृषिको बजेट पाँच गुणाले बढाएको भन्दै आन्दोलनरत किसानहरुलाई घर फर्कन आह्वान गरेका छन्।