अमेरिकी सहायक विदेशमन्त्री लु आजदेखि उच्चस्तरीय भेटवार्तामा सक्रिय

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, ०९ : ५६
अमेरिकी सहायक विदेशमन्त्री लु आजदेखि उच्चस्तरीय भेटवार्तामा सक्रिय

काठमाडौँ । नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबारदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छन् । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लु तीनदिने भ्रमणका क्रममा बुधबार बेलुका नेपाल आइपुगेका हुन् । उनी नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन आएको बताइएको छ । तर उनको यो भ्रमण अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मत जुटाउनका लागि रहेको विश्लेषण गरिन्छ ।

उनले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने छन् ।

अमेरिकी राजदूतावासले बुधबार विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस