राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, १६ : ४३
राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए । त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा समेत प्रदान गरीन्। उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैले दिईन । 

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पु¥याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताईन ।

उनले सांस्कृतिक संस्थानले नेपालको लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिईन ।

उनले  कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पु¥याउन सक्ने बताईन।राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरुले निकै खुशी व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस