टक्सारमा असर्फी किन्नेको भीड

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १५ : ४९
टक्सारमा असर्फी किन्नेको भीड

काठमाडौँ । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुइँचो लागेको हो।

असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको छ। कोटाभन्दा बढी मानिसहरुको घुइँचो देखिएपछि सर्वसाधारणमा सुनको असर्फी नपाउने चिन्ता बढेको छ । काठमाडौँको कोटेश्वरका निरज पौडेलले चाँदीको असर्फी पाउने आशा गरेका छन्।

हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेका सिनामंगलका विजय उपाध्यायले भीडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन्। उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २।५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख छ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दसैँ र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ।

प्रतिक्रिया दिनुहोस