प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरुले बनाए वार्ता टोली

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १७ : ४५
प्रधानन्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरुले बनाए वार्ता टोली

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनका लागि सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधीशहरूले तीन सदस्यीय टोली बनाएका छन्। कसैले आन्दोलन गर्दैमा पदबाट नबाहिरिने अड्डी कसेका जबरासँग वार्ताका लागि न्यायाधीशहरूले तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन्।

उक्त टोलीमा आइतवार मात्रै आन्दोलनमा समर्थन जनाउन आइपुगेका न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र अर्का न्यायाधीश मनोजकुमार शर्मा रहेका छन्। वार्ता टोली गठनसँगै प्रधानन्यायाधीश र आन्दोलनरत न्यायाधीशहरूबीच फेरि छलफल सुरु भएको छ। अहिले दुई पक्षबीच सर्वोच्चमा छलफल चलिरहेको छ।

सर्वोच्चमा चलेको आन्दोलनका कारण गत सोमबारदेखि कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन। सुनुवाइ नै रोकेर आन्दोलन गरेपछि न्यायाधीशहरूमाथि पनि अन्य विकल्प खोजेर इजलासमा जान दबाब बढिरहेको छ। 

न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस