प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"

सफल खबर संवाददाता

मंगलबार, ०५ जेठ २०८३, १४ : ५८
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले सर्वोच्च अदालतका इजलासहरूको प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका छन् । आज प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनवाइमा उनले यस्तो सुझाव प्रस्तुत गरेका हुन् ।

बोहराले ढिला न्याय दिनु भनेको न्याय नदिनु हो भन्ने भनाइ सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्ममा लागु भइरहेको टिप्पणी गरे । पैसा हुनेहरूले निमुखालाई मुद्दा हालेर दुख दिन परिपाटी रहेको बताए । कस्ता मुद्दा लिने र कस्ता नलिने भन्नेमा अदालत सजक हुनुपर्ने उनको भनाइ छ ।

बोहराले भने, ‘यदि हामीले लाइभ गर्ने हो भने, इजलासको प्रत्यक्ष प्रसारण भइरहेको छ भने न्यायाधीशले जथाभाबी गर्न सक्दैन, किनकि मान्छेले कहीँ न कहीँ हेरिरहेका छन् । अहिले संसद बैठक पनि प्रत्यक्ष प्रसारण भइरहेको छ । संसारभरि हेरिरहेका छन् ।’

प्रत्यक्ष प्रसारण हुँदा अन्याय कसरी भइरहेको छ भन्ने प्रष्ट हुने उनको दाबी छ ।

‘प्रत्येक इजलासको प्रत्यक्ष प्रसारण भयो भने दायाँ बायाँ के हुन्छ, कसको तर्क के हो, कसको प्रमाण के छ सबै थाहा हुन्छ,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस