बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

पत्रपत्रिकाबाट

विहीबार, १३ बैशाख २०७५, ०७ : ५३
बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

काठमाडौं । भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, 'मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।'

२०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिए, 'म भन्छु हरेक नेपालीले बनाउँछ, एक-एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा ।' ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने दुई बर्ष तीन महिना बितिसकेको छ । तर यसबीचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुंगो नै लागेको छ ।

त्यही पनि ओलीले भने दुई बर्ष तीन महिना अघिको बाचा बिर्सेझैं गरी बुधबार फेरी भन्न भ्याइहाले 'म इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर, म आउन तयार छु ।' जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको धरहराको स्वरुप तीन बर्ष बितिसक्दा समेत फेरिन सकेको छैन । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस