साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

पत्रपत्रिकाबाट

विहीबार, १३ बैशाख २०७५, ०७ : ५०
साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं । साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् ।

जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको हो । यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गएको हो ।

रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुन: पुनरावेदन गर्ने तयारी गरेको छ । ‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘हामी भोलि नै निवेदन दर्ता गर्दै छौं । त्यसको तयारीका लागि दूतावासका प्रतिनिधि जुवेल पुगिसकेका छन् ।’

जुवेल पुगेका दूतावासका प्रथम सचिव विजयकान्त राउतको टोलीले बुधबार उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेको छ । ‘फैसला आएदेखि नै उमेश निराश छन् । चिन्ताले खाना पनि खाएका छैनन् । बचाइदिन आग्रह गर्दै धेरैबेर रोए,’ राउतले भने, ‘दूतावासले जीवनरक्षाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलायौं ।’आजको कान्तिपुरले दास्रो पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस