स्पेनिस ला लिगा

बार्सिलोनालाई लाग्यो नमिठो झट्का

एजेन्सी

विहीबार, ११ कार्तिक २०७८, ०८ : ३४
बार्सिलोनालाई लाग्यो नमिठो झट्का

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनालाई रायो भालेकानोको नमिठो झट्का लागेको छ । बार्सिलोना रायो भालेकानोसँग १–० गोलले स्तब्ध बन्यो । घरेलु मैदानमा रायो भालेकानोलाई जिताउन राडामेल फाल्काओले ३०औं मिनेटमा गोल गरे । फाल्काओले ओस्कार ट्रेजोको पासमा गोल गरेका थिए । ६९ प्रतिशत बल पोसेसन राखेपनि पाहुना टोली बार्सिलोनाले गोल गर्न सकेन ।

जितसँगै पाँचौं स्थानमा उक्लिएको रायो भालेकानोको ११ खेलबाट १९ अंक पुगेको छ । लगातार दोस्रो हार खेपेको बार्सिलोना १५ अंक सहित नवौं स्थानमा छ । यसअघि ‘एल क्लासिको’ भिडन्तमा पनि बार्सिलोना रियल म्याड्रिडसँग २–१ गोलले पराजित भएको थियो । यसैगरी अर्को खेलमा सेभिया १० खेलाडीमा समेटिएको मालोर्कासँग १–१ गोलको बराबरीमा रोकिएको छ । मालोर्काको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्काले सुरुवाती अग्रता लिएको थियो ।

२२औं मिनेटमा एन्टोनियो सान्चेजले गोल गर्दै मालोर्कालाई अग्रता दिलाए । ७३औं मिनेटमा सेभियाका इरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा जउमो कोस्टा रातो कार्ड पाउँदै बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो ।बराबरीसँगै सेभिया दोस्रो स्थानमा उक्लिएको छ । २१ अंक बनाएको सेभिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । १३ अंक बनाएको मालोर्का १२औं स्थानमा छ ।

तेस्रो स्थानमा रहेको रियल बेटिसको पनि २१ अंक छ । बुधबार राति नै भएको खेलमा बेटिसले भ्यालेन्सियालाई ४–१ गोलले स्तब्ध बनाएको हो । पराजित भ्यालेन्सिया १३ अंक सहित ११औं स्थानमा छ ।