विकास बहस

विकासको नमूना बन्न सक्छ चितवन : प्रचण्ड

सूर्यप्रकाश कँडेल

बुधबार, १२ बैशाख २०७५, ०८ : ५५
विकासको नमूना बन्न सक्छ चितवन : प्रचण्ड

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई विकासको नमूना जिल्ला बनाउन सकिने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज बुधबार भरतपुरमा आयोजना गरेको चितवनको विकास र समृद्धिबारे छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘चितवन विकासको नमूना र उदाहरण हुन सक्छ’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सिंगो राष्ट्रले चितवनको विकासबाट सिक्न सक्छ । यसको लागि चितवनको भूराजनीतिक अवस्थितिलाई हेरेर एकीकृत विकासको गुरुयोजना बनाउनु पर्छ भनेर केन्द्रमा छलफल गरिरहेका छौँ ।’ अहिले केन्द्रमा बजेटको तयारी भइरहेको र नयाँ बजेटमा माडीका ठाडा खोला नियन्त्रण, मध्यवर्ती क्षेत्रमा मेसजाली लगाउने काम र पूर्वाधार विकासका लागि यसपटकको बजेटले सम्बोधन गर्ने उहाँले बताउनु भयो ।
पुरानो बजेटबाट भरतपुर–ठोरी हुलाकी मार्ग मर्मत गर्न तीन करोड र भरतपुर–चनौली मार्गको लागि १२ करोड रुपैयाँ निकास भएर काम अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । जगतपुरदेखि माडीसम्म आकाशेपुल निर्माणबारे छलफल चलिरहेको र यो असम्भव नभएको उहाँले बताउनु भयो । सकभर यसपालिकै बजेटमा आकाशेपलबारे केही रकम छुट्याएर सम्भाव्यता अध्ययनको काम सुरु गरिने उहाँको भनाइ थियो ।
कृषिमा आधारित उद्योगको आवश्यकतामा जोड दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘कृषिमा सुधार गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग परामर्श लिएर इजरायल सरकारसँग कुराकानी भइरहेको छ । देशका १५ ठाउँमा इजरायली मोडेलमा एकीकृत कृषि फार्म स्थापना गर्न चाहेका छौँ । त्यस्तो एउटा कृषि फार्म चितवनमा पनि रहने छ ।’


स्वास्थ्य, शिक्षा र पर्यटनको हब बन्ने अवस्थामा चितवन रहेको धारणा व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चितवनमा राष्ट्रिय निकुञ्ज छ । नारायणी, राप्ती र रिउ नदी छन् । यी सबै अवसर पनि हुन् र चुनौती पनि ।’ सरकारले राष्ट्रपति चुरे संरक्षण परियोजनाको केन्द्रीय कार्यालय चितवनमा नै राख्न लागेको उहाँले बताउनु भयो । यसैगरी प्रहरीको प्रदेश संरचनाको मुख्यालय पनि चितवनमा रहने उहाँको भनाइ थियो ।
प्रेस सेन्टर नेपाल, चितवन शाखाका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराई, नेता यमबहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस