एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी सुरु, पाँच लाख जनता उतार्ने दावी

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १२ : ०८
एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी सुरु, पाँच लाख जनता उतार्ने दावी

चितवन । चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरी चितवनमा हुने महाधिवेसनको तयारी सुरु भएको एमालले जनाएको छ । महाधिवेसनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दावी नेकपा एमालेले गरेको छ । 

पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले हरेक सेवासुविधका कारण महाधिवेसन चितवनमा गर्न लागिएको बताए । उनले कसैलाई काउन्टर दिने उद्देश्यले नभई सेवासुविधाका कारण चितवनमा महाधिवेसन गर्न लागिएको बताए । उनले देशभरका मानिसहरुलाई आवजावतमा चितवन मध्येभागमा रहेका कारण चितवन छनौट गरिएको बताए । 
महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार वा अन्य ठूलो क्षेत्रमा गर्ने गरी ठाउँको खोजी गरिएको प्रदेश अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनले एक साताभित्र बन्दसत्र, खुलासत्र कहाँ गर्ने भन्ने विषयमा टुंगो लाग्ने बताए ।  अध्यक्ष पोखरेलले भने, ‘चितवन भूगोलका हिसाबले पनि मध्यभाग छ, आवतजावत गर्न पनि सहज छ, चार घण्टा समय जोगाउनुपर्छ भनेर छानिएको हो, बाहिर टिकाटिप्पणी गरेजस्तो हैन, हामीहरुको प्रतिस्पर्धा कुनै दलसँग हैन, पाँच दलीय गठबन्धनसँग हो ।’

उनले महाधिवेशन चितवनमा गरेर एमालेलाई २०७४ सालको नेकपाको हैसियतमा पुर्याउने संकल्प र सन्देश दिने बताए । महाधिवेशनमा विधान महाधिवेशनका प्रतिनिधिको आधा प्रतिनिधि मात्रै सहभागी हुने पोखरेलको भनाइ छ । पार्टीका सदस्य र शुभेच्छुकहरुले स्वतः दिने सहयोगमा महाधिवेशन गर्ने पोखेरलले बताए ।

एमाले बागमती प्रदेश कमिटीका सहइन्चार्ज काशीनाथ अधिकारीले एमालेको चितवनमा हुने महाधिवेशनले यहाँको गरिमा, पर्यटन र आर्थिक विकासलाई थप टेवा पुग्ने बताए । एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनमा हुने महाधिवेसन सफल पार्न सबैसँग आग्रह गरिन् । उनले चितवनको लागि यो ऐतिहासिक अवसर भएको बताइन् । 

प्रतिक्रिया दिनुहोस