इच्छाराज तामाङविरूद्ध संगठित अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १८ : ४८
इच्छाराज तामाङविरूद्ध संगठित अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु

काठमाडौँ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको छ।

यसअघि ठगी मुद्दामा अनुसन्धान भइरहेकोमा प्रहरीले संगठित अपराध ऐन आकर्षित गरी अनुसन्धान थालेको हो। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बिहीबार तामाङसहित पक्राउ परेका १२ जनालाई संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ। 

तीन वा त्योभन्दा बढी व्यक्तिहरू संलग्न भएर हुने आर्थिक अपराधलाई संगठित अपराध ऐन आकर्षित गरेर अनुसन्धान गरिने गरिएको छ। हालसम्म तामाङसहित १२ जनाविरूद्ध ११२६ जनाले जाहेरी दिएका छन्। हालसम्म उनीहरूविरूद्ध चार अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रूपैयाँ बिगो तयार भएको छ ।

संगठित अपराध ऐनको कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।
 

प्रतिक्रिया दिनुहोस