गाउँ पस्यो कर्णाली, टीकापुर बजार जलमग्न

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, ०८ : ०६
गाउँ पस्यो कर्णाली, टीकापुर बजार जलमग्न

टीकापुर । कर्णाली नदीमा पानीको सतह लगातार बढ्दै गएपछि कर्णाली नदी गाउँ पसेको छ। दुई दिनदेखि भएको लगातारको वर्षाले कर्णालीमा आएको बाढी गाउँ पसेको हो। 

मंगलबार कर्णाली नदीको शाहीपुरबाट कटान गरेर गाउँ पसेको कर्णाली नदी राति पथरैया क्षेत्रबाट कटान गरेर गाउँ पसेको छ। पथरैयामा भएको कटानले कैलालीको जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश भूभाग जलमग्न भएका छन्।  टीकापुर बजार क्षेत्रमा समेत पानी पसेको छ। टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले बजार क्षेत्रमा पानी पसेको बताउँदै पथरैयाबाट नदीले कटान गरेपछि जोखिम उच्च भएको बताए। 

यता, कर्णाली नदीको शाहीपुर क्षेत्रमा भएको कटानले वडा नं. ५ को शाहीपुर, बसन्ता, वडा नं. ६ को लक्षिनापुर, वडा नं. ७ को सत्ती, पदमपुर, वडा नं. ८ को पुरै क्षेत्र डुबानमा परेको छ। कटानले हुलाकी राजमार्ग अन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ। 

बाढीका कारण वडा नं. ५ का सय बढी परिवार बसन्तास्थित त्रिभुवन राष्ट्रिय माविमा सारिएको छ भने वडा नं. ८ को वनगाउँ, अर्नुवा क्षेत्रका शय बढी परिवारलाई राष्ट्रिय निमावि सूर्यपुरमा सारिएको छ। उता, जानकी गाउँपालिकाको मूर्तिया, धनवाफाँटा, कुन्ती, लायकपुर शिविर, जगतपुर लगायत झण्डै हजार बढी घर डुबानमा परेका छन्। 

बाढीले हजारौं विघा क्षेत्रमा लगाइएको धानखेती बगाएको छ। कर्णाली नदीमा रातिको समयमा पानीको सतह केही कम भए पनि बिहान फेरि बढेको छ। चिसापानी जल मापन केन्द्रका  अनुसार नदीमा पानीको सतह बिहान ६ बजे १२.४० मिटर पुगेको छ। नदीमा पानीको सतह बढिरहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस