महाप्रसादको गलत नीतिका कारण धरापमा बैंकिङ प्रणाली

सिभिल बैंकमा देखियो खराब हालत

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १० : ३५
महाप्रसादको गलत नीतिका कारण धरापमा बैंकिङ प्रणाली

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा भएको बदमासी रोक्ने र गलत काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आँखा चिम्लिएका कारण समस्या एक पछि अर्को गर्दै बढीरहेको छ ।

खासमा महाप्रसादले एमाले त्यसमा पनि खड्ग ओली निकटका बैंकरलाई कुनै पनि कारवाही नगर्ने, बरु अन्य दल सम्वद्ध बैंकर तथा व्यवसायीलाई भने दुःख दिने गरेको तथ्य कोही कसैबाट छिपेको छैन । पछिल्ला दिनमा त गभर्नर अधिकारी जसरी भएपनि सरकारलाई अप्ठ्यारोमा पार्ने, कुनै पनि काम गर्न नदिने, असहयोग गर्ने तथा सरकारलाई कसरी असफल बनाउन सकिन्छ भन्ने ध्याउन्नमा मात्रै लागेका छन् । 

तथ्यहरुका अनुसार उनकै गलत नीतिका कारण यतिबेला देशभर नै बैंकिङ प्रणालीमा चर्को तरलताको अभाव देखिएको छ । यसबाट नागरिकले चर्को व्याजको मारमा परेका छन् । न त ऋण लिन सक्ने, न त कुनै व्यापार व्यवसाय गर्न सक्ने अवस्थामा उनीहरु पुगेका छन् । यो सबै उनै गभर्नर अधिकारीका कारण भएको बैंकरहरुको भनाइ छ । 

पछिल्लो पटक  चर्चित घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई प्रहरीले ठगी आरोपमा पक्राउ ग¥यो । यो घटनासँगै व्यवसायी तामाङको डाउनफल औपचारिकरुपमा शुरु भएको छ । तर, यसको पछाडि महाप्रसादको गलत नीतिले काम गरेको छ । रुसबाट सिभिल इन्जिनियरको अध्ययन सकेर स्वदेश फर्किएका तामाङ सहकारी र हाउजिङ बिजनेशका कारण रातारात अर्बपति भएका थिए । खड्ग ओलीको फेरो समातेर उनले हुने नहुने सबै काम गरेका थिए । अघिल्लो पटक खड्ग ओलीलाई मोटो रकम बुझाएर उनी संविधानसभा सदस्य  बनेका थिए । 

तामाङ सिभिल बैंकका अध्यक्षसमेत हुन् । उनी पक्राउ परेसँगै बैंकको अध्यक्षको पद जाने निश्चित भएको छ । त्यतिमात्रै होइन, तामाङले व्यवहार मिलाउन सिभिल बैंकको सेयर बिक्री गर्नुपर्ने देखिएको छ । सिभिललाई अन्य बैंकले मर्जर तथा प्राप्तिका लागि अफर गर्दा अध्यक्ष तामाङ नै त्यसको मूख्य बाधक बन्दै आएका थिए । जसकारण सञ्चालकहरु पनि उनीसँग सन्तुष्ट थिएनन् । किनकी तामाङले ओलीको आडमा व्यवहार गर्दै आएका थिउ । ओलीको कालो धन लुकाउने माध्यम नै तामाङ बनेका थिए । कालो धन लुकाएर तामाङलाई हुने नहुने सबै काम गराउन ओलीले नै परिचालन गरेका थिए । 

अब बैंकको अध्यक्षबाट मात्रै होइन, बैंकको सेयरधनीका रुपबाट समेत तामाङको बहिर्गमन हुने सञ्चालकहरु बताउँछन् । किनभने सिभिल बैंक किन्नका लागि केही व्यक्ति तथा संस्थाले प्रयास गरिरहेका छन् । सिभिल बैंकमा इच्छाराज तामाङको २९ लाख ४५ हजार ७०० कित्ता र उनकी श्रीमति सिर्जना शाक्यको १ लाख ९५ हजार १ सय २२ कित्ता गरी कूल ३१ लाख ४० हजार ८ सय २२ कित्ता सेयर छ । यसबाहेक तामाङका आफन्तको नाममा केही लाख कित्ता सेयर रहेको सिभिल बैंकको उच्च स्रोतको भनाइ छ । 

व्यवहार मिलाउन गाह्रो परेपछि केही वर्षअघि तामाङले श्रीमति सिर्जनाका नाममा भएको १७ लाख ५३ हजार ५ सय ९४ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँमा कर्मचारी सञ्चय कोषलाई बिक्री गरेका थिए ।

श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानुनी व्यवस्था छल्न तामाङले श्रीमति सिर्जना शाक्यसँग नक्कली सम्बन्धबिच्छेद समेत गर्न भ्याएका थिए । कागजीरुपमा सम्बन्धबिच्छेद गरीका तामाङ दम्पती एउटै घरमा बस्दै आएका छन् । सहकारी र हाउजिङ व्यवसायबाट स्थापित भएका तामाङले बैंकको लाइसेन्स बाँड्न सहज भएको बेला राष्ट्र बैंकबाट सिभिल बैंकको लाइसेन्स लिन सफल भएका थिए । डा. युवराज खतिवडा गभर्नर भएको बेला एमालेको शक्ति लगाएर तामाङले बैंकको लाइसेन्स लिएका थिए । 

ठगी आरोपमा तामाङ प्रकाउ परेपनि सिभिल बैंकको व्यवस्थापन र काममा भने त्यसको खासै असर हुँदैन । बैंकमा रहेको निक्षेप पूर्णरुपमा सुरक्षित छ । तर, बैंकको इमेजमा भने असर परेको छ । त्यसको पछाडि ओलीको खचाञ्जीका रुपमा रहेका महाप्रसादको प्रमुख हात रहेको जानकारहरुको भनाइ छ । नागरिकको निक्षेपमाथि देखादेख लुटपाट भइरहँदा पनि त्यसलाई जोगाउनमहाप्रसाद नै लागेका छन् । एकातिर बैंकिङ प्रणाली ध्वस्त पार्ने र अर्कोतर्फ गलत काम गर्नेलाई प्रोत्साहन गरेका कारण ढिलो चाँडो महाप्रसादको पनि इच्छाराजको जस्तै पतन निश्चित  रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस