मुग्लिङ-पोखरा सडक २ घण्टा बन्द

रासस

आइतबार, ०९ कार्तिक २०८२, २० : ३३
मुग्लिङ-पोखरा सडक २ घण्टा बन्द

तनहुँ । पहिरो पन्छाउनु पर्ने कारण आज राति मुग्लिङबाट आबुखैरेनी हुँदै पोखरा जाने सडक २ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, तनहुँद्वारा जारी सूचनाअनुसार आबुखैरेनी गाउँपालिका- ४, साखरमा पहिरो पन्छाउनका निम्ति आज राति १२ देखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासनको निर्देशनबमोजिम उक्त रुटमा चल्ने लामो तथा छोटो दूरीका सवारीलाई विभिन्न माध्यमबाट सडक बन्द हुने पूर्वसूचना गरिएको इलाका प्रहरी कार्यालय, आबुखैरेनीका इन्स्पेक्टर प्रदीप सुवेदीले बताए ।

मुग्लिङबाट त्यसतर्फ जाने सवारी साधनलाई २ घण्टासम्म त्यहीँ होल्ड गरिने उनले बताए । अर्कोतर्फबाट आउने सवारी साधनलाई साखरभन्दा वरै रोकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस