खसीबोका मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १५ : ४६
खसीबोका मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ

काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरे।

कम्पनीले हाल २ हजार खसीबोका बिक्रीका लागि ल्याएको छ । तर, ग्राहक बढेको खण्डमा थप गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए । उनले दैनिक ५ सय वटा खसीबोका बिक्री हुने अनुमान गरिएको बताए ।

यता ग्राहकहरूले पनि बजारमा भन्दा सस्तोमा खसीबोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले खसीबोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको बताए ।

कम्पनीले बिहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसीबोका बिक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीले दाङ र मकवानपुरबाट खरीद गरेर खसीबोका ल्याएको हो ।