सत्ता गठबन्धनको बैठक चल्दाचल्दै बाहिरिए माधव नेपाल

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १७ : ०१
सत्ता गठबन्धनको बैठक चल्दाचल्दै बाहिरिए माधव नेपाल

काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक चल्दाचल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । नेपाल निकट स्रोतका अनुसार पार्टीको बैठक जारी रहँदा आफ्नो कुरा स्पष्टसँग राखेर माधव नेपाल बाहिरिएका हुन् । अध्यक्ष नेपाल बैठकमा साढे दुई घण्टा बसेका थिए ।

नेपाल बाहेकका नेताहरु भने बालुवाटारमै बैठक गरिरहेका छन् । बालुवाटारबाट बाहिरिँदा सञ्चारकर्मीहरूलाई समेत कुनै प्रतिकृया दिएका छैनन् । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा माधव नेपालले असहमति प्रकट गरेका थिए । 
मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका गठबन्धन घटक दलहरुबीच यसअघि भएको मन्त्रालय भागबण्डाप्रति अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।  

आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका स्रोतको भनाइ छ । माधव नेपालको असन्तुष्टिका कारण मन्त्रिमण्डल विस्तारमा अझ केही दिन ढिला हुने देखिएको छ । आजको बैठकमा नेता नेपालले आफ्नो पार्टीलाई एक राज्यमन्त्रीसहित पाँच मन्त्री दिने भन्ने  यसअघिको सहमति वैज्ञानिक नभएको भन्दै थप एक मन्त्री पाउनुपर्ने अडान राखेका थिए । 

प्रतिक्रिया दिनुहोस