चितवनमा दसैँ तिहारमा ३० हजार खसीबोका माग

रासस

सोमबार, १८ असोज २०७८, १० : १८
चितवनमा दसैँ तिहारमा ३० हजार खसीबोका माग

चितवन । चितवनमा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ ।  जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ ।कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ ।

जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन् । ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउँछन् । तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन् । ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उनको भनाइ छ । जिल्लामा वार्षिक दुई हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ ।

अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । विगतका वर्षमा दसैँ तिहारको समयमा ३१ हजार ८०० खसीबोका काटिएको तथ्याङ्क छ । आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ । दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ । यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् ।

खसीबोका मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष उद्धव तिम्सिनाले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको बताए । उनका अनुसार गत वर्ष पाँच हजार मात्रै खसीबोका खपत भएका थिए । यस वर्ष यो सङ्ख्या दोब्बर हुने उनको अनुमान छ । पसलमा आउने खसीबोका छिमेकी जिल्लाका पनि हुने गर्दछन् । उनका अनुसार नवलपरासी, गोरखा, लमजुङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट यहाँ खसीबोका आउने गर्दछन् । जिल्लामा ३०० हाराहारी मासु पसल रहेका छन् ।