प्रेस सङ्गठनको महाधिवेशन आगामी कात्तिकमा

रासस

शनिबार, १६ असोज २०७८, २१ : ०५
प्रेस सङ्गठनको महाधिवेशन आगामी कात्तिकमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ ।

आज बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी कात्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कात्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कात्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ ।

बैठकले सङ्गठनको नाम प्रेस सङ्गठन परिर्वतन गरी पुरानै नाम प्रेस सेन्टर नै राखेको छ । तत्कालीन नेकपा (एमाले) र माओावादी केन्द्र एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस सङ्गठन बनेको थियो ।

पार्टी विभाजन भएपछि एमाले निकट पत्रकार सङ्गठनको नाम प्रेस चौतारी भए पनि माओवादी केन्द्र निकट पत्रकारको सङ्गठनको नाम प्रेस सङ्गठन नै रहेको संयोजक महेश्वर दाहालले जानकारी दिए । बैठकले केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत गर्ने भएको छ ।

बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी सङ्गठनको विधान प्रस्ताव गर्नुका साथै विधानमा सङ्घ, प्रदेश र स्थानीय पालिकाका शाखालाई बलियो बनाउने प्रस्ताव गरेको छ । बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले अब पार्टी जनताको चाहनाअनुसार नै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस