एमाले सहमतिमा नआए संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, ०७ : ४०
एमाले सहमतिमा नआए संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटामाथि अनेकथरी आरोप लगाउँदै संसदको जारी अधिवेशनको शुरु देखि गरिरहेको अवरोधका कारण संसदका काम कार्वाही प्रभावित बनिरहेको छ । दुई दुई पटक संसद भंग गरेको एमालेले सर्वोच्च अदालतको फैसलाबाट ब्यूतिएको संसदलाई निकाम्वा बनाउन सभामुखको भूमिका निश्पक्ष नभएको बाहनामा संसदको जारी अधिवेशनमा अवरोध गदै आईरहेको छ ।

उसले सभामुखले माधव नेपाल सहितका १४ सांसदलाई कारवाही नगरी पूर्वाग्रह राखेको र एमाले विभाजनमा मतियार बनेको आरोप लगाएर गत भदौं २३ यता जारी संसद बैठकमा निरन्तर बेल घेराउ गर्ने र नारावाजी गदै आईरहेको छ ।

सहमतिमै आउन नचाहेपछि सत्ता पक्षले पनि बजेट सम्वन्धी विधेयकहरु पेलेरै पारित गरेको छ । यसले सत्ता र प्रतिपक्षका वीचमा झन टसल बढिरहेको छ । यस वीच प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीलाई तीन पटक एमाले अध्यक्ष केपी ओलीको बालकोट स्थित निवासमै पुगेर सहमतिमा आईदिन आग्रह गरेका थिए ।

तर पनि जिम्मेवार प्रतिपक्षले सहमतिमा आउनुको साटो संसदमा अवरोध कायमै राखेपछि सरकारले एकपटक सर्वदलीय बैठक राखेर एमालेलाई सहमतिमा आउनका लागि अन्तिम प्रयास गर्ने भएको छ ।

त्यसैका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले आफु प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान १० बजे प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, रास्ट्रिय प्रजातन्त्र पार्टी, राष्टिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी सम्मलाई बोलाएर सर्वदलीय बैठक आयोजना गर्न लागेका हुन् ।

तर प्रधानमन्त्रीले बोलाएको यो सर्वदलीय बैठकमा पनि एमालेले सहभागिता जनाउने नजनाउने खुलिसकेको छैन । यस अगाडी संसदको गतिरोध फुकाउन सभामुखले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो । आज प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमालेले के गर्छ ? खुलेको छैन ।

एमालेले वहिष्कार गरे या सहभागी भएर पनि संसदको गतिरोध खोल्ने तिर कुनै चासो नदेखाए सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसका लागि आजै दिउँसो ३ बजे प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रीपरिषद्को बैठक पनि बोलाएका छन् ।

‘खास एजेण्डा भएर भन्दा पनि एमालेले जारी राखेको संसदको अवरोध खोल्नका लागि प्रधानमन्त्रीले छलफल गर्न सर्वदलीय बैठक आह्रवान गर्नुभएको हो, आजै सर्वदलीय बैठकपछि संसद बैठक १ बजे बस्दैछ, त्यहाँ एमालेले आज पनि संसद अवरोध गरिरहे दिउँसो ३ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ, त्यहीवाट संसदको चालु अधिवेशन अन्त्य भएको सिफारिसराष्ट्रपतिलाई गर्ने सम्भावना छ,’ सरकारका एक मन्त्रीले सफलखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस