कुन दलबाट कोको बन्दैछन् मन्त्री ?

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १६ : ५१
कुन दलबाट कोको बन्दैछन् मन्त्री ?

काठमाडौँ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

समाजवादीका नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । नेकपा (एकीकृत समाजवादी) का एक नेताका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।

नेपाली काँग्रेसका तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँण कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ, र परराष्ट्रमन्त्रीमा नारायण खड्का रहेका छन् । प्रधानमन्त्री देउवाले अब रामचन्द्र पौडेलका २ र कृष्ण सिटौला पक्षका एक मन्त्री नियुक्त गर्दैछन् । अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन्। जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन्।

कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन्। 
तथा माओवादीतर्फबाट जनार्दन शर्मा अर्थमन्त्री र उर्जामन्त्रीमा पम्फा भुसाल छन् । सरकारलाई पूर्णता दिन माओवादीले थप चार, जसपाले ६ र काँग्रेसबाट दुईदेखि तीन जना थपेर  मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ । माओवादीले मन्त्री बन्नेहरुको नाम सार्वजनिक गर्ने अन्तिम तयारीमा गरिरहेको छ । 

जसपाले नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएका बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् । सरकार गठन भएको ७५ दिन हुन लाग्दा पनि गठबन्धनको आन्तरिक समस्याका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस