‘मोक्षभूमि’ उपन्यासलाई पद्मश्री पुरस्कार, पद्मश्री साधना सम्मान आचार्यलाई

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, ०९ : १५
‘मोक्षभूमि’ उपन्यासलाई पद्मश्री पुरस्कार, पद्मश्री साधना सम्मान आचार्यलाई

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मानको घोषणा गरेको छ ।   

अध्यक्ष जीवा लामिछानेले लामिछानेद्वारा जारी विज्ञप्तिमा लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार २०७७ अर्पण गरिने निर्णय भएको छ ।

‘मोक्षभूमि’ उपन्यासमा लेखकले झण्डै सातसय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, संघर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ । 

विज्ञप्तिअनुसार पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम संगीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्याएका गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ ।  भक्तराज आचार्यको गायन आज पनि जनजनमा भिजेको छ ।

१६ वर्षको छोटो संगीत साधनाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन् । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी तीन—तीन लाख रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस