पर्यटन पूर्वाधार निर्माण भईसकेका गन्तव्यहरुको प्रवर्धनमा सामुहिक रुपमा जुटौं : मेयर दाहाल

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, ११ : ५८
पर्यटन पूर्वाधार निर्माण भईसकेका गन्तव्यहरुको प्रवर्धनमा सामुहिक रुपमा जुटौं : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका भित्र रहेका महत्वपूर्ण गन्तव्यहरुमा पर्यटन पूर्वाधार निर्माण भईसकेकाले यसलाई शसक्त ढंगले प्रर्वधन गर्न सरोकारवालाको सामुहिक प्रयास हुनुपर्ने बताएकी छिन् ।

४२औ विश्व पर्यटन दिवसको अवसरमा ज्ञानेश्वर सामुदायिक बन परिसरमा चितवन पर्यटन विकास समितिले आयोजना गरेको बृक्षरोपण सरसफाई तथा गन्तब्य प्रवर्धन कार्यक्रममा बोल्दै मेयर दाहालले पर्यटन क्षेत्रको विकास र प्रवर्धन मार्फत समृद्धि हासिल हुने बताउदै भरतपुर महानगरपालिकाले सोही बमोजिम काम अगाडि बढाईरहेको बताएकी हुन्

उनले महानगर पर्यटकको केन्द्रको रूपमा रहेको भन्दै जल, जमिन र जंगलको समुचित सदुपयोग गरी यसको प्रबर्धनमा लाग्नुपर्ने बताईन् । पर्या पर्यटन,  ईको पार्कका साथै सामुदायिक बनहरूलाई पर्यटकिय केन्द्रको रूपमा विकास गरी आय आर्जनको अतिरिक्त माध्यम बनाउन दाहालले आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले व्यवस्थीत सडक संजाल निर्माण गरिसकेको बताउदै यसले पर्यटन प्रर्वधन र विकासमा सहयोग पूर्याउने बिस्वास व्यक्त गरिन् । नारायणी नदी किनारलाई सी बिच मोडलको रूपमा विकास गर्ने कामको सुरूवात भैसकेको भन्दै यो निर्माण सम्पन्न हुदा एउटा नमुना गन्तब्य बन्ने दाहालको भनाइ छ ।

भरतपुरमा रमणिय घुम्ने पर्यटकिय स्थलको कमी नभएको भन्दै पार्क मन्दिर खेल पर्यटनको लागि निर्माणाधिन गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला, सिटीहल, नारायणी नदिमा जल बिहार र चितवन राष्ट्रिय निकुन्जभित्र पाटेबाघ तथा एक सिंगे गैँडा लगायतका जंगली जनावरको अवलोकन भरतपुरको विशेषता भएको उनको भनाई छ । उनले यस्ता पर्यटकिय क्षेत्रहरूको पहिचान विकास र बिस्तारमा सबैलाई ध्यान पूर्याउन आग्रह समेत गरेकी छन् । 

कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुबेदिले ४२औँ विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दै पर्यटनको गुणात्मक विकासबाट लक्ष हासिल गर्न सकिने बताए । उनले चितवन भरतपुरको ज्ञानेश्वर ब्लक पर्या पर्यटन र स्पोर्ट टुरिज्मको रूपमा विकास गर्ने सम्भावना भएको भन्दै सबै सरोकारवालहरुको सामुहिक प्रयास मार्फत अगाडि बढेमात्र लक्ष्य हासिल गर्न सकिने बताए ।

सो अवसरमा होटल व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष दिनेस कुमार चुकेले विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दे पर्यटन क्षेत्रको समग्र विकास मार्फत समृद्धि हासिल गर्नुपर्ने बताए । पर्यटकिय क्षेत्रको पहिचान विकास र प्रर्वधनमा सबैको सामुहिक चासो र लगानी हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा चितवन पर्यटन विकास समितिका सदस्य सुरबिर पोखरेलले पर्या पर्यटनको विकास गर्दै यसको प्रवर्धनमा सामुदायिक बनहरू सबै लागि पर्ने बताए । चितवन पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानेश्वर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राजन अधिकारी लगायतले भरतपुरको पर्यटन विकासको सम्भावना र अवसरहरूको बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । सो अवसरमा सामुदायिक बन परिसरमा बृक्षरोपण समेत गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस