लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १४ : ४७
लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

file-photo

रूपन्देही । असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो ।

असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।गत भदौ ३१ गते बसेको प्रदेश सभाको बैठक एमालेको अवरोध गरेपछि असोज ७ गतेसम्मका लागि सभामुख पूर्ण बहादुर घर्तीले स्थगित भएको जनाएका थिए ।

नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै बैठक अवरुद्ध गर्दै आएको छ ।

पार्टीले कारबाही गरेका दुई जना प्रदेश सभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ ।सभामुख पुर्णबहादुर घर्तीले दुई जना प्रदेश सभा सदस्यको मुद्धा सर्वोच्च अदालतमा बिचाराधीन रहेको र अदालतमा बिचाराधीन मुद्दाको बिषयमा सदनमा कुरा उठाउन नमिल्ने भन्दै प्रदेश सभा सदस्यहरूलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस